जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार १७:०५

कपिलबस्तुको बिजयनगर गाउँपालिकामा पुनः अध्यक्ष–उपाध्यक्ष बने एमालेका गोपाल र लक्ष्मी


कपिलबस्तु, जेठ ७ । नेकपा एमालेले कपिलवस्तुको विजयनगर गाउँपालिकामा आफ्नो विरासत कायम राखेको छ । बिजयनगरमा एमालेले अध्यक्ष र उपाध्यक्षसहित ७ वडामध्ये ६ वडाध्यक्ष जितेर आफ्नो विरासत यथावत राखेको हो ।

पालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः गोपाल थापा निर्वाचित हुनुभएको छ । थापाले आफ्ना प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकी यादवलाई पराजित गर्नुभएको हो । ०७४ मा पनि थापाले यादवलाई नै पराजित गरेर पालिकाको अध्यक्ष जित्नुभएको थियो । यसपटक पनि इतिहास दोहोर्याउनु भएको हो । यस्तै उपाध्यक्षमा एमालेकी लक्ष्मी चौधरी पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । चौधरी जसपाकी गुन्जेश्वरी कुर्मीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

बिजयपुरमा ७ वडामध्ये एमालेबाट वडा नं १ को वडाध्यक्षमा इन्नर थारु, वडा नं २ को वडाध्यक्षमा नेपाल थारु, वडा नं ४ को वडाध्यक्षमा तिलकराम कंडेल, वडा नं ५ को वडाध्यक्षमा अनवर महोम्मद मुसलमान, वडा नं ६ को वडाध्यक्षमा प्रेमबहादुर कलवार र वडा नं ७ को वडाध्यक्षमा दिनेश कुमार चौधरी निर्वाचित हुनुभएको छ । वडा नंम्बर ३ को वडाध्यक्षमा भने जसपाका हृदय विकास चौधरी निर्वाचित हुनुभएको छ ।