जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १६:११

पाँच दलको गठबन्धन हुँदा पनि अधिकांश उपमहानगरको उपमेयरमा एमालेको जीत, यस्तो छ सूची


काठमाडौं, जेठ ८ । सत्ता गठबन्धनको बलियो एकता कायम भएको मुलुकका अधिकांश उपमहानगरपालिकाको उपमेयरमा नेकपा एमाले विजयी भएको छ । केन्द्रबाटै गठबन्धन गरिएका ११ उपमहानगरपालिकामध्ये हालसम्म ९ पालिकाको परिणाम आउँदा दुई तिहाई एमालेले जीतेको हो ।

अहिलेसम्म ११ उपमहानगरमध्ये ९ उपमहानगरको परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार ९ मध्ये ६ वटा उपमहानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका हुन । यस्तै दुईमा नेपाली कांग्रेस र एक उपमहानगरमा जसपाका उम्मेदवार विजयी भएका छन । परिणाम आउन बाँकी तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेले अग्रता लिइरहेको छ । भने धरानमा गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवारको अग्रता रहेको छ ।

परिणाम आएकामध्ये एमालेले धनगढी, घोराही, कलैया, बुटवल, इटहरी र जीतपुर सिमरा उपमहानगरपालिकामा उपमेयर जितेको छ । धनगढीमा कन्दकलाकुमारी राना, घोराहीमा हुमा डीसी, कलैंयामा रौशन परविन, बुटवलमा सावित्रादेवी अर्याल, इटहरीमा संगीताकुमारी चौधरी र जीतपुर सिमरामा भोलाप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ ।

यस्तै, पछिल्लो मतपरिणामअनुसार तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेका उम्मेदवार स्यानी चौधरीले निरन्तर अग्रता कायम राख्नुभएको छ । चौधरीलाई एकीकृत नेकपा समाजवादीका जोगबहादुर राणाले पछ्याइरहनु भएको छ । परिणाम आएकामध्ये नेपालगञ्ज उपमहानगरको उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्धीन राई विजयी हुनुभएको छ ।

यस्तै कांग्रेसबाट हेटौंडाको उपप्रमुखमा राजेश बानियाँ र जनकपुरमा कांग्रेसका किशोर शाह निर्वाचित हुनुभएको छ । धरानको उपप्रमुखमा भने माओवादी केन्द्रका अइन्द्र विक्रम वेघाले अग्रता लिनुभएको छ ।