जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १८:१४

मनोज पाण्डेले यौन शोषण गरेको उजुरीसतिह अर्की युवती पनि प्रहरीमा पुगिन


काठमाडौं, जेठ ८ । कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अर्की युवती पनि प्रहरी सम्पर्कमा पुगेकी छन्। आइतबार उपत्यका प्रहरी अपराध महाशाखामा पुगेर ती युवतीले आफू पनि पाण्डेबाट यौन शोषणमा परेको बताएकी हुन्।

प्रहरी स्रोतका अनुसार अनुसार शनिबार प्रहरीले पाण्डेलाई पक्राउ गरे लगत्तै उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई सम्पर्क गरेकी थिइन्। आइतबार उनले महाशाखामै पुगेर घटना बारे बताएकी हुन । प्रहरीले सोमबार पाण्डेलाई जिल्ला अदालत काठमाण्डौंमा उपस्थित गराउने भएको छ।

अनुसन्धानका लागि सोमबार म्याद लिने तयारी गरेको महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले बताउनु भयो । यसअघि सुन्दरी प्रतियोगितामा सहभागी किशोरीले पाण्डेबाट यौन शोषणमा परेको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन्। उनले घटना सार्वजनिक गरेसँगै दोषीलाई तत्काल कारबाही गर्न सडकदेखि संसदसम्म आवाज उठेको थियो।

त्यसलगत्तै सरकारले घटनाको अनुसन्धान गर्न एसएसपी कुँवरको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान समिति बनाएको थियो। समितिले शुक्रबार देखि नै अनुसन्धान गरिरहेको छ। शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनीविरुद्ध ती किशोरीले पनि सोमबार जाहेरी दिने तयारी गरेकी छन्।

पाण्डेलाई प्रहरीले मानव बेचविखन तथा ओसारपसारको मुद्दा चलाउने तयारी गरेको छ। यो मुद्दामा हद म्याद नहुने भएकाले प्रहरीले यही कसुरलाई मुख्य बनाउने र बन्धक बनाएको, नसालु पदार्थ खुवाएको र यौन शोषण गरेको पनि त्यही मुद्दामा खुलाउने भएको छ। बलात्कारको मुद्दामा एक वर्षभित्रमा उजुरी गर्नु पर्ने हद म्यादका कारण प्रहरीले अर्को विकल्प खोजेको हो। ८ वर्ष पहिले पाण्डेले यौन शोषण गरेको आरोप ती किशोरीको छ।