जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १९:०५

एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन


काठमाडौं, ८ जेठ । अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले भोलि आफ्नो समूहको शक्ति प्रदर्शन गर्दैछन् । शेर्पाले भोलि तीनकुने स्थित रोयल वैंक्वेटमा ११ बजे कार्यक्रम राख्नुभएको छ । एन्फाको निर्वाचन ६ असारमा हुँदैछ । जसका लागि शेर्पाले पुनः अध्यक्षमा उम्मेदवारी दिने योजना बनाउनुभएको छ । २०७४ सालमा एउटै समूहबाट आएका हालका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले यस पटक अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

गत ४ जेठमा पंकज समूहले ललितपुरको एक होटेलमा आफ्नो शक्ति प्रदर्शन गरेको थियो । त्यही कार्यक्रम मार्फत नेम्बाङले उम्मेदवारी घोषणा दिनुभयो । यस्तै वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ । पंकज पक्षमा यस पटक कर्मा निकट देखिएका मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले देखिनुभयो । यस्तै तटस्थ रहेका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ र पूर्व उपाध्यक्ष सुनिल राणा समेत पंकज पक्षमा खुल्नुभएको छ ।

यता, ब्रिगेड ब्वाइज क्लब (बीबीसी) का उपाध्यक्ष राजु हाँयजु, बाँसबारी क्लबका प्रेम थापा समेत पंकज समूहमा देखिनुभएको छ । पंकजको शक्ति प्रदर्शनमा ५५–६० मताधिकारको सहभागिता रहेको थियो । भोलि हुने शेर्पाको उम्मेदवारी घोषणा तथा शक्ति प्रदर्शनमा वर्तमान उपाध्यक्ष शिक्षित पराजुली र उपेन्द्रमान श्रेष्ठ रहने छन् । यस्तै विज्ञानराज शर्माले उम्मेदवारी दिने तयारी गरेका छन् । यस्तै भोलिको शक्ति प्रदर्शनमा तेस्रो धार देखिएका महासचिव इन्द्रमान तुलाधरसमेत कर्मा पक्षमा देखिने सम्भावना छ ।