जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १९:१६

रेशमलाल चौधरीको दलभन्दा पनि दोब्बर तल पर्यो माधव नेपालको नेकपा एस


धनगढी, जेठ ८ । सुदुरपश्चिम प्रदेशसभामा सवैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादी जेलमा रहेका निलम्बित सांसद रेशमलाल चौधरीको दल भन्दा पनि आधा तल परेको छ । ८८ स्थानीय तहमध्ये ८४ पालिकाको परिणाम आउँदा प्रदेशसभाको सवैभन्दा ठूलो दल नेकपा एस जम्मा दुई पालिकामा सिमति भएर चौधरीको दलभन्दा तल परेको हो ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म आएको परिणाममा नेपाली कांग्रेसले ३७ पालिका प्रमुख जितेर पहिलो दल बनेको छ भने नेकपा एमाले २५ पालिका जितेर दोस्रो दल बनेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले १४ पालिकामा प्रमुख जितेको छ । चौथोमा चौधरीको दल नागरिक उन्मुक्ति पार्टी रहेको छ । सो दलले ४ पालिकामा प्रमुख जितेको छ ।

यस्तै नेकपा एस र स्वतन्त्रले दुई पालिकामा प्रमुख जितेका छन । मत परिणाम हेर्दा सुदुरपश्चिम प्रदेशमा नेकपा एसलाई कांग्रेस र माओवादीले उपयोग मात्रै गरेको देखिएको छ । सुदुरपश्चिम प्रदेशमा अव बाजुराको बुढीगंगा, कन्चनपुरको पुनर्वास, भीमत्त नगरपालिका र अछामको साँफेबगर नगरपालिकाको मत परिणाम आउन बाँकी छ।