जनता टाइम्स

९ जेष्ठ २०७९, सोमबार १८:४२

खोटाङकी पहिलो महिला मेयरको पहिलो निर्णय – अशक्तको निस्शुल्क स्वास्थ्य बिमा


खोटाङ, ९ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नयाँ मेयर निर्वाचित भएर आए लगत्तै शारीरिक रूपमा अशक्त, एकल नागरिक र अभिभावक विहीन बालबालिकाको लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ । नवनिर्वाचित मेयर विमला राईले सोमबार पदभार ग्रहण लगत्तै एकल महिला, एकल पुरुष, बिधुवा, विधुर, ‘ख, ग र घ’ वर्गको अपाङ्गता भएका नागरिक तथा अभिभावक विहीन बालबालिकाको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका (ग) वर्गको अपाङ्गता भएका रमला राई र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका विदुर दर्जीमान परियारलाई निःशुल्क स्वास्थ्य बिमाको कार्ड हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गरिएको छ । एक पटक स्वास्थ्य बिमा गरेपछि वार्षिक न्यूनतम ३ हजार ५०० रुपैयाँ तिरेर स्वास्थ्य बिमा कार्ड नवीकरण गर्ने व्यवस्था छ ।

तर शारीरिक रूपमा अशक्त, एकल नागरिक र अभिभावक गुमाएका बालबालिकाको स्वास्थ्य बिमाको नवीकरण नगरपालिकाकोतर्फबाट गर्ने व्यवस्था मिलाइएको नवनिर्वाचित मेयर राईले बताउनुभयो । नगर अस्पताल निर्माण गरेर आफ्नै नगरपालिकामा स्वास्थ्य बिमा बापतको स्वास्थ्य सेवा उपलब्ध गराउने गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अघि सारिएको जनाइएको छ ।

११ वडा रहेको नगरपालिकामा एकल महिला र बिधुवा ७ सय जना छन् । (ख) वर्गका अपाङ्गता भएका व्यक्ति ११७ जना, (ग) वर्गका अपाङ्गता भएका व्यक्ति ६८ जना र (घ) वर्गका अपाङ्गता भएका व्यक्ति ६३ जना छन् । विदुर र अभिभावक विहीन बालबालिकाको संख्या संकलन भइरहेको मेयर राईले बताउनुभयो ।

नगर योजना आयोग गठनको प्रस्ताव

मेयर राईले नगर योजना आयोग गठन, विज्ञ समूहद्वारा नगर स्तरीय सम्पदा तथा संस्कृति संरक्षण परिषद् गठन सम्बन्धी अवधारणा विकास गर्ने योजना अघि सार्नुभएको छ । यस्तै, नागरिक माथि शासनका लागि प्रशासन होइन, आधुनिक प्रविधि व्यवस्थापन प्रणालीमार्फत सेवा प्रवाहसहित संस्थागत संरचनाको विकास गर्ने, प्राविधिक शिक्षालाई जोड दिँदै केही आधारभूत विद्यालय तहमा अंग्रेजी माध्यमबाट पठनपाठनको सुरुवात गर्ने प्रस्ताव गर्नुभएको हो ।

पाँच बुँदे योजनामा नगरका नागरिकलाई कृषि, पर्यटनमा संलग्न गराउँदै कपास खेती, पशुपालन क्षेत्रमा स्वरोजगार बनाइने भनिएको छ । २०७४ सालमा उपमेयर विजयी हुनुभएको राई यसपल्ट मेयरमा विजयी हुनुभएको हो । मेयर राईले आज उपमेयर रमेश राउत, वडाध्यक्ष लगायतलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।