जनता टाइम्स

९ जेष्ठ २०७९, सोमबार २१:१७

गठबन्धनको घेराबन्दीलाई तोडदै प्रभु साहको क्षेत्रमा एमालेको अर्कों जित


गौर, जेठ ९ । नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहको निर्वाचन क्षेत्रको दोस्रो नगरपालिकामा एमालेले जित निकाल्न सफल भएको छ ।

पूर्वमन्त्री साहको क्षेत्र रौतहट ३ मा पर्ने देवाही गोनाही नगरपालिकामा पाँच दलीय गठबन्धनको घेराबन्दी तोड्दै एमालेका मेयर उम्मेदवार प्रेमलाल साह निर्वाचित हुनुभएको छ । गठबन्धनको अगुवाई गरेका जनता समाजवादी पार्टी नेपालका उम्मेदवार मधुलिका पटेललाई साहले ४९५ मतले पराजित गर्नुभएको हो । भर्खरै सार्वजनिक अन्तिम मतपरिणाम अनुसार साहले ४ हजार २९२ मत पाउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी जसपाकि पटेलले ३ हजार ३९७ मत प्राप्त गर्नुभएको छ। नवनिर्वाचित साह भुमिहिन गरिब परिवारका सदस्य हुनुहुन्छ। समाजमा लोकप्रियता कमाएका एवम् सादा जीवन बिताउने प्रेमलाल साहलाई जिताउन प्रभु साह सफल हुनुभएको छ । त्यस्तै उपमेयरमा पनि नेकपा एमालेकी उम्मेदवार परनिया देवी पटेल निर्वाचित हुुनुभएको छ।

निवर्तमान उपमेयर समेत रहनुभएकी पटेलले गठबन्धनको उम्मेदवार इश्वरीलाल यादवलाई ८६५ मतले पराजित गर्नुभएको हो । पटेलले ४ हजार ४४५ मत पाउँदा यादव ३ हजार ५८० मतमा सिमित हुनुभयो ।

यस अघि प्रभु साहको गृहनगरमा गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले एमालेकी रीना साहले पराजित गर्नुभएको थियो। मेयर साहको प्यानलमा मौलापुर नगरपालिकाको उपमेयर नागेन्द्र राय यादव पनि विजयी हुनुभएको थियो। मौलापुरको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी र एउटा नेकपा माओवादी केन्द्रले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ ।