जनता टाइम्स

११ जेष्ठ २०७९, बुधबार ०७:४५

पोखराको मेयरमा गठबन्धनका धनराज र उपमेयर एमालेकी मञ्जुदेवी विजयी


कास्की, जेठ ११ । पोखरा महानगरको मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्य निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मत परिणाम सार्वजनिक गर्दै आचार्य मेयरमा निर्वाचित भएको घोषणा गरेको हो।

वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा पोखरा महानगरमा २ लाख ७ हजार मतदता रहेकोमा १ लाख ४३ हजार २२६ मत खसेको थियो । जसमा धनराजले ५८ हजार ८९३ मत पाएर पोखराको १५ औं मेयर निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८४८ मत पाउनु भयो । कृष्णले भन्दा मेयर निर्वाचित धनराजले ६ हजार ४५ मत बढी पाउनुभएको छ । धनराजलाई सत्तारूढ पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजावदी, जनता समाजवादी र जनमोर्चाको समर्थन रहेको थियो।

सत्ता गठबन्धनबाट मेयर जिते पनि उपमेयरमा भने लोकप्रिय मतका साथ एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । पोखराका निवर्तमान उपमेयर रहेकी मञ्जुले सबैभन्दा धेरै ६० हजार ५४६ मत पाएर विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाउनुभयो । कोपिलाले भन्दा मञ्जुले ३ हजार ८८३ बढी पाउनु भएको हो ।