काठमाडौं, ११ जेठ । ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमाले दोस्रो स्थानमा सिमित भएको छ । हालसम्मको नतिजा हेर्दा स्थानीय तहमा एमालेको सिट संख्या घटे पनि जनमत भने घटेको देखिंदैन । ०७४ सालमा देशका २ महानगर, ७ उपमहानगरसहित २९४ स्थानीय तह जितेर पहिलो पार्टी बनेको एमाले यतिखेर २ सय ३ पालिकामा मात्रै जितेर दोस्रो पार्टीमा खुम्चिएको छ । यद्यपी ९ स्थानीय तहको मतगणना बाँकी छ । मतगणना अन्तिम चरणमा पुगिसक्दा एमाले महानगरमा शून्य र हालसम्म २ उपमहानगर मात्र जितेको छ ।
तर, पालिका प्रमुख वा अध्यक्षमा एमालेले हारेको भए पनि उपप्रमुख वा उपाध्यक्ष र सदस्यमा भने जितिरहेको छ । मत संख्याका आधारमा हेर्दा एमालेले हालसम्म देशभर पाएको मत संख्या उल्लेखनीय रहेको छ । पार्टीहरूको एक्लाएक्लै मत हेर्दा एमालेले हालसम्म देशभर ४५ लाख ८५ हजार ७६७ मत पाएर पहिलो पार्टी भएको छ ।
नेपाली कांग्रेसले हालसम्म ३२३ स्थानीय तह जितेको छ । प्रमुख सिट संख्याका आधारमा पहिलो दल बनेको कांग्रेस ३९ लाख १९ हजार २९६ मत पाएर दोस्रोमा देखिन्छ । कांग्रेसले हालसम्म २ महानगर, ३ उपमहानगरसहित ३ सय २० तहमा जित्न सफल भएको छ ।माओवादी केन्द्रले १ सय २१ स्थानीय तह जितेको छ भने जसपा २९, एकीकृत समाजवादी १८, लोसपा १६ र स्वतन्त्रले ३० पालिका जितेका छन् । पाँचदलीय गठबन्धनको घेराबन्दीको बावजुद एमाले एक्लैले पाएको उक्त मत संख्या उल्लेखनीय हो ।













प्रतिक्रिया दिनुहोस्