जनता टाइम्स

११ जेष्ठ २०७९, बुधबार ०९:४९

प्रकाशमान र सिर्जना सिंहको वडामै बालेन साह दोब्बर मतले अगाडि


काठमाडौं, जेठ ११ । काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह र कांग्रेस नेता प्रकाशमान सिंहकै वडामा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतले अग्रता लिनुभएको छ ।

सिंह दम्पत्तिले मतदान गरेको काठमाडौंको १६ नम्बर वडामा साहले २५ सय ६९ मत पाउनु भएको छ प्रतिस्पर्धी सिंहले ११ सय ९० मत प्राप्त गर्नुभएको छ । वडा नम्बर १६ मा एमाले उम्मेदवार केशव स्थापितले ९ सय ९० मत पाउनु भएको छ । अहिलेसम्म उक्त वडामा कुल खसेको १२ हजार ३ सय ३६ मतमध्ये ६ हजार ४ सय ५३ मत गणना भएको छ ।

यो परिणामसँगै स्वतन्त्र उम्मेदवार साहले ५५ हजार भोट कटाउनु भएको छ भने प्रतिस्पर्धी सिंह र स्थापित निकै पछाडि पर्नुभएको छ । उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित निश्चत भएको छ । गणना हुन बाँकी रहेको मत भन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले सुनिताको जित निश्चित भएको हो ।