जनता टाइम्स

११ जेष्ठ २०७९, बुधबार २२:५९

शशांकको क्षेत्रमा काँग्रेसलाई हराउने एमालेका २८ वर्षे दीपेन्द्र


काठमाडौं, ११ जेठ। चीनबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेपछि २८ वर्षका दीपेन्द्र सुनारी मगर, जन्म गाउँ नवलपुरको बुलिङ्टार फर्किनुभयो ।डोजरले जताततै पहाड भत्काउनुबाहेक गाउँको जीवनस्तरमा ठोस परिवर्तन थिएन । उहाँगाउँघर घुम्नुभयो । कोरोना महामारीको समयभरि गाउँमै बसे । त्यस बेला उहाँले सरकार र जनता बिचको सम्बन्धमा ठुलो खाडल देख्नुभयो । गाउँमा पानीको अभाव, बिजुलीको समस्या, युवाको विदेश पलायन, आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था, आयआर्जनमा समस्या यी यावत कुराहरू देखेपछि दीपेन्द्रलाई छटपटी भयो । उहाँलाई गाउँलेका निर्दोष मनहरूले प्रश्न सोधेको अनुभूति हुन्थ्यो, ‘के तिमी हाम्रो जुनी बदल्ने कुनै काम गर्न सक्छौँ ? उहाँ भावुक हुनुहुन्थ्यो।

कुनै प्रोजेक्ट वा योजना वा कार्यक्रमबाट मात्रै जनताको खुसी ल्याउन नसक्ने निष्कर्षमा पुगेका दीपेन्द्र राजनीतिमा होमिने सोचमा पुग्नुभयो । उहाँको पारिवारिक पृष्ठभूमि नेकपा एमालेको थियो । २०५४ सालमा दीपेन्द्रका बुवा शेरबहादुर सुनारी मगरलाई गाविस अध्यक्षमा काङ्ग्रेसकै उम्मेदवारले हराएका थिए । २०७४ को चुनावमा वडा नम्बर १ बाट वडाध्यक्ष उठेका शेरबहादुर फेरि पराजीत हुनुभयो । कारण, यो काँग्रेसको सबैभन्दा बलियो किल्ला हो । नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाका छोरा, पूर्व महामन्त्री डा. शशांक कोइरालाको निर्वाचन क्षेत्रमा पर्ने बुलिङटारले तीन पटकसम्म उहाँलाई जिताएको छ । बुलिङटारलाई ‘बिपीको छोराले रोजेको ठाउँ’ भन्ने गरिन्छ ।

कतिपय काँग्रेस कार्यकर्ताले बुलिङटारमा झन्डै ९० प्रतिशतभन्दा बढी काँग्रेस रहेको बताउँछन् । यस पृष्ठभूमिमा दीपेन्द्र गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने तयारीमा लाग्नुभयो । हार निरन्तरताको अर्को ताज थप्न हत्तपत्त उम्मेदवार बन्न नेताहरू समेत हिचकिचाउँछन् यहाँ । पार्टीको बैठकमा आफू गाउँपालिकाको अध्यक्ष उम्मेदवार बन्ने आकाङ्क्षा मात्रै राखेनन् दीपेन्द्रले गाउँको अहिलेको अवस्था र आफ्ना योजना पनि सुनाउनुभयो । उहाँ गाउँका विषयमा धेरै सूचना, जानकारी र तथ्याङ्क बोकेर हिँड्नुभएको थियो । जितको आधार देखाउँदा कतिपय नेताहरू ओठ फर्काउँथे तर दीपेन्द्र टिकट पाए जसरी पनि जित्ने र जनतालाई खुसी दिने बताउनुभएको थियो । गाउँपालिका अध्यक्षका लागि दीपेन्द्र सहित सात जनाको नाम सिफारिस भएको थियो । नवलपुर जिल्ला इन्चार्ज तिलक महत, सहइञ्चार्ज रवीन्द्र अधिकारी, केन्द्रीय सदस्य कृष्ण पौडेललगायतलाई आफूले कन्भिन्स गरेको दीपेन्द्र बताउनुहुन्छ । अन्ततः दीपेन्द्रले एमालेबाट गाउँपालिका अध्यक्षको टिकट पाउनुभयो । पढे लेखेका युवालाई गाउँमा बोलाउनुभयो । तथ्याङ्कलाई टेकेर उहाँहरूले योजना बनाउनुभयो । उहाँसँग सबै क्षेत्रका युवाहरूको टिम छ । बुलिङटारका जनताको जीवनस्तर खै त सुध्रिएको ? गाउँको विकास खोइ ? जनताको स्वास्थ्यमा सुधार खोइ ? जबाफदेहिता र पारदर्शिता खोइ ? यी प्रश्न लिएर दीपेन्द्रसहितका युवा जनताको घरमा घरमा पुग्नुभयो । समस्या मात्रै बताउनुभएन आफ्ना एजेन्डा पनि सुनाउनुभयो।

गाउँको विकास गर्ने तरिका जनतालाई बुझाउनुभयो । ३० वैशाखमा भएको स्थानीय चुनावमा दीपेन्द्र चार हजार ५९ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा उहाँका प्रतिद्वन्द्वी काँग्रेसका शशी किरण बस्ताकोटीले ३ हजार ९ सय मत पाउनुभयो। यहाँका १२ हजार ५०१ मतदातामध्ये ८ हजार ४२२ मत खसेको थियो ।

अघिल्लो पटक गाउँपालिका अध्यक्ष बनेका काँग्रेसका बस्ताकोटी यस पटक पनि जित्नेमा ढुक्क हुनुहुन्थ्यो। तर, जनताले मतमार्फत मन फेरे । अहिलेसम्म बुलिङ्टारमा नहारेको काँग्रेसलाई हराएर दीपेन्द्रले इतिहास रच्नुभयो । जम्मा ६ वटा वडा भएको गाउँपालिकामा उपाध्यक्षसहित पाँच वटै वडामा काँग्रेसको प्यानलै विजयी भएको छ । वडा नम्बर ५ र अध्यक्ष मात्रै एमालेले जितेको छ । दीपेन्द्रको वडामा समेत काँग्रेसले जित्यो । उहाँ भन्नुहुन्छ, ‘केही दिन समय पाएको भए, यी वडामा जित निकाल्न असहज थिएन । अब यो मतलाई विश्वासमा बदल्छु ।’ बुलिङटारमा जितको अर्को कार्ड थियो, मगर जनमत । ७८ प्रतिशत मगर जातिको बसोबास रहेको यो गाउँपालिकामा ६ प्रतिशत रहेका बाहुन क्षेत्रीले मात्रै शासन गरेको बुझाइ रहेको दीपेन्द्र बताउनुहुन्छ ।