जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार ०८:१९

दैलेखमा बस दुर्घटना : मृतक चारै जनाको पहिचान खुल्यो, ३९ घाइते


काठमाडौं जेठ १२। दैलेखको आठबिस नगरपालिका वडा नं. २ सिस्नेमा बस दुर्घटनामा परेर मृत्यु भएका ४ जनाको पहिचान भएको छ। कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको म १ ख ६६० नम्बरको यात्रुबाहक बस बुधबार राती दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो।

डीएसपी साहका अनुसार दुर्घटनामा परी दैलेखका दुई र कालिकोटका दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा दैलेखको दुल्लु नगरपालिका–९ का अन्दाजी ३२ वर्षीय प्रेम सुनार र ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाँता गाउँपालिका–३ का अन्दाजी ३५ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीय धनकला शाहीको मृत्यु भएको डीएसपी साहले बताउनुभयो । बसमा कुल ६२ जना यात्रु रहेको खुल्न आएको र तीमध्ये ३९ जना घाइते रहेको डीएसपी साहले बताउनुभयो।

सामान्यदेखि गम्भीर घाइते भएका बसमा सवार ३९ जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बस राजमार्गबाट ४० मिटर तल कर्णाली नदीमा खसेको छ। ‘प्रारम्भिक अनुसन्धान र चालकको भनाई अनुसार ब्रेक फेल हुँदा बस दुर्घटना हुन पुगेको भन्ने खुल्न आएको छ,’ दैलेख प्रहरी प्रमुख डीएसपी साहले भन्नुभयो ‘घटनाको विस्तृत अनुसन्धान थालेका छौं।’