जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार १०:१५

१ लाख ८३ हजार मत गन्दा बालेन शाहलाई ३८ प्रतिशत, अरुले कति पाए ?


काठमाडौं, जेठ १२ । काठमाडौं महानगरपालिकाको २९ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १४, १५ र १६ बाहेक सबै वडाको मत गणना सकिएको छ।

हालसम्म कुल १ लाख ८३ हजार ६७९मत गणना हुँदा मेयर पदमा १ लाख ५४ हजार ८९५ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ। मत परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन्।

मेयरमा स्वतन्त्र उम्मेदवार शाहले ५९ हजार १४९ मत प्राप्त गर्नुभएको छ । बालेनले पाएको मत कुल खसेको सदर मतको ३८.१९ प्रतिशत हो । दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत अर्थात कुल खसेको सदर मतको २४.२४ प्रतिशत पाउँदा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत ल्याउनु भएको छ । स्थापितको मत कुल खसेको मतको २४.०३ प्रतिशत हो ।

चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १३ हजार ३५४ मत प्राप्त गर्नुभएको छ । जुन कुल सदर मतको ८.६२ प्रतिशत हो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मदन दास श्रेष्ठले ५५६५ मत प्राप्त गर्दै पाँचौ स्थानमा हुनुहुन्छ। श्रेष्ठले कुल खसेको सदर मतको ३।५९ प्रतिशत मत पाउनु भएको हो ।

यस्तै विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समिक्षा बाँस्कोटाले ६३० मत पाउनु भएको छ । बाँस्कोटाले कुल खसेको सदर मतको ०.४१ प्रतिशत पाउनु भएको हो । मेयर पदका अन्य उम्मेदवार सवैको जोडदा हालसम्म १४३७ मत पाएका छन्। अर्थात कुल खसेको सदर मतको ०.९३ प्रतिशत ती उम्मेदवारले पाएका हुन ।