जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार १८:४०

सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालाको फैसला उल्टियो


काठमाडौं, जेठ १२ । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका तात्कालिन प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद सजाय घटाउने आफ्नै फैसला उल्टयाएको छ । प्रधानन्यायाधीश चोलेन्दै शमशेर जवरा (हाल महाअभियोगपछि निलम्बित) को फैसला उल्ट्याएको हो ।

सर्वाेच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले आज उच्च अदालतको फैसला सदर गरेको हो । २०७७ साल साउन ११ गते श्रीमती गीता ढकालको हत्यामा दोषी ठहरिएका कोइरालालाई प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद सजाय घटाउन गरेको फैसलाविरुद्ध महान्यायधिवक्ता कार्यालयले पुनरावलोकन रिट दायर गरेको थियो ।

जसअनुसार साढे आठ वर्ष कैद बसेर कोइराला कारागारमुक्त भएका थिए । उक्त फैसला पीडकको पक्षमा आएको भन्दै न्यायिक वृत्तबाटै आलोचना भएको थियो । त्यसपछि महान्यायाधिवक्ताको कार्यालय फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च पुगेको थियो ।

आज सर्वाेच्चले उच्च अदालतकै फैसला सदर गरी सर्वाेच्चको फैसला उल्ट्याएको हो । उच्च अदालतले जन्मकैद गरेकामा सर्वोच्चले ८ वर्ष ६ महिनामा झारेको थियो । सर्वोच्चले कैद घटाएसँगै कोइराला कारागारबाट मुक्त भएका थिए ।