जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार ००:००

गठबन्धन गर्दा पनि गृहमन्त्री खाणकै वडामा कांग्रेस पराजित, एमालेको ‘क्लिन स्वीप’


बुटवल, जेठ १२ । गृहमन्त्री बालकृष्ण खाणको वडामा नेपाली कांग्रेस पराजित भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहनुभएका खाणको वडामा एमालेले क्लिन स्वीप गरेको हो । कांग्रेस उम्मेदवारलाई पराजित गर्दै एमालेको उक्त वडामा निर्वाचित भएको छ ।

तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाइ रामकृष्ण खाण नगर प्रमुख पदका उम्मेदवार हुनुहुन्छ । उहाँको समेत घर रहेको वडा नम्बर ८ मा कांग्रेस पराजित भएको हो । तिलोत्तमा नगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र जनमोर्चा समेतको गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेल १८९ मतान्तरका साथ विजयी हुनुभएको छ ।

पौडेल २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेलाई ५०७ मतको अन्तरले पराजित गरी वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । यो वडामा तीन हजार ४ सय ६८ मत खसेको थियो ।वडाध्यक्षमा नेकपा एमालेका कृष्ण प्रसाद पौडेलले एक हजार ६ सय १५ मत पाएर विजयी हुँदा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका केशवराज अर्यालले एक हजार ४ सय २६ मत पाउनु भएको छ ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवारहरू महिला सदस्य कमला पराजुली, दलित महिला सदस्यमा सावित्रा दमाई र खुल्ला सदस्यमा कमलकान्त गौतम र खुमबहादुर खासु विजयी हुनुभएको छ ।