जनता टाइम्स

३० असार २०७६, सोमबार ०९:२८

कुलेखानीको ड्याम खोलिने, चार जिल्लाबासीलाई सतकर्ता अपनाउन अपिल


मकवानपुर, असार ३०

मकवानपुरको कुलेखानी ड्याम भरिएको छ । ड्याम भरिएर ओभर फ्लो हुने देखिएपछि ड्याम खोलेर पानी छाडिने तयारी भईरहेको छ । दिनहुँजसो कुलेखानीको क्षमताभन्दा बढी पानी जमेपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले ड्याम खोलेर पानी निकासा गर्ने निर्णय गरेको हो ।

कुलेखानीको ड्याम खोल्दा त्यहाँबाट बग्ने पानीले चार जिल्लामा प्रभाव पार्ने भएकाले सतर्क रहन मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आग्रह गर्नुभएको छ । कुलेखानीको क्षमता कुल १ हजार ५ सय ३० मिटर रहेको छ । बिहान ६ बजे सम्ममा १ हजार ५ सय २५ दशमलब ४ मिटर पानी भरीसकेको छ । प्रतिघण्टा २ मिटरका दरले पानी बढीरहेकाले कुलेखानीमा खतराको संकेत देखिएको हुँदा पानी बाहिर निकाल्न लागिएको प्रमुख जिल्ला अधिकारी तामाङले बतााउनु भयो ।

नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राबिधिकको सहभागितामा कुलेखानीको पानी निकाल्न लागिएको हो ।कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, बागमती गाउँपालिकाका साथै सर्लाही, रौतहट र सिन्धुली जिल्लाका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । बागमती खोला भएर कुलेखानीको पानी बग्ने भएकाले त्यस आसपासका क्षेत्रमा रहेकाहरु विशेष सतर्क बस्न प्रमुख जिल्ला अधिकारी तामाङले आग्रह गर्नुभयो ।