जनता टाइम्स

१२ जेष्ठ २०७९, बिहीबार २१:३३

गठबन्धनलाई पराजित गर्दै अनमी बनिन् गाउँपालिका उपाध्यक्ष


प्यूठान, १२ जेठ । नौवहिनी गाउँपालिका वडा नम्वर ६ निवासी ३९ वर्षिय विष्णा थापाले ११ वर्ष स्वास्थ्य क्षेत्रमा काम गर्नुभयो । लुङ बाहाने बजारस्थित घर नजिकैको सामुदायिक स्वास्थ्य इकाइमा उहाँ अनमी पदमा कार्यरित हुनुहुन्छ । अब उहाँको परिचय बदलिएको छ । थापा गाउँपालिका उपाध्यक्षमा विजयी हुनुभएको छ ।

उपाध्यक्ष पदमा उनी सोमवार पदवहाली हुनुभयो । एउटा स्वास्थ्य इकाइको मात्र होइन्, अब उहाँको काँधमा सिंगो गाउँपालिकाकै स्वास्थ्य लगाएत क्षेत्रको परिवर्तन गर्ने जिम्मेवारी आएको छ । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका घन बहादुर बुढामगरलाई ६ सय ९७ मतको अन्तरले थापा उपाध्यक्षमा विजयी हुनुभयो । उहाँले ६ हजार ३ सय ४ र बुढामगरले ५ हजार ६ सय ७ मत पाउनुभएको छ ।

बुढामगर निवर्तमान गाउँपालिका उपाध्यक्ष हुनुहन्थ्यो। नेपाली कांग्रेस र माओवादीको यहाँ गठवन्धन थियो । एमाले एक्लै लड्दा पनि थापा विजयी हुनुभएको हो । स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझेकी थापाको पहिलो अठोट सिंगो नौवहिनी क्षेत्रकै स्वास्थ्यमा परिवर्तन ल्याउने छ ।

‘यति लामो समय स्वास्थ्य क्षेत्रमै नजिक रहेर काम गर्ने अवसर पाएँ’,थापाले भन्नुभयो ,‘हाम्रो गाउँपालिकामा स्वास्थ्य लगाएत धेरै समस्या छन् । समस्यालाई सुधार गर्नेतर्फ हाम्रो प्राथमिकतामा हुनेछ ।’ एम्बुलेन्स विहिन गाउँपालिकामा पहिलो प्राथमिकतामै एम्बुलेन्स खरिद गर्ने योजना बनाएको उहाँले सुनाउनुभयो । नौवहिनी जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने गाउँपालिका भएकाले यसलाई सुगमको बाटोमा लैजानका लागि नीति, कार्यक्रम र बजेटलाई जोड दिने उहाँले प्रतिक्रिया दिनुभयो ।

यसअघि गाउँपालिकामा उपाध्यक्ष पदमा पुरुष भएकाले यसपाली आफ्नो उपस्थितीले धेरै महिलाहरुको अनुहारमा खुसी थपिएको समेत उहाँले सुनाउनुभयो । आय आर्जनका कार्यक्रम मार्फत महिलाहरुको जीवनस्तरमा परिवर्तन ल्याउने र लक्षित वर्गमा पुग्ने गरी अनुदान वितरण गर्ने कामलाई विशेष जोडका साथ अघि बढाइने उहाँले योजना बताउनुभयो । गाउँपालिकाको समग्र विकासमा सवैले रचनात्मक सहयोग गर्न समेत उहाँले गाउँपालिकाबासीलाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको संयूक्त सरकार रहेको नौवहिनीमा यसपाली बहुमत वडा सहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एमालेले जितेको छ । गाउँपालिका अध्यक्षमा यस क्षेत्रकै पुराना एमाले नेता डिलबहादुर थापा विजयी हुनुभको छ ।