जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार ०८:१५

सिडिओ र प्रहरी प्रमुखलाई तीन दिन भित्र हटाउन निर्देशन: बुढीगंगा नगरपालिकामा पुनः मतदान


काठमाडौं, १३ जेठ । बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ ।  निर्वाचन आयोगले बिहीबार पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाई अरु कर्मचारी पठाएर निर्वाचनको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । उनीहरुलाई निर्वाचन कसुर अनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । अबको निर्वाचन कार्यक्रम निर्वाचन अधिकृतको कार्यालयले नै तोक्ने जनाइएको छ । नगरपालिकाका कूल दश वटा वडामध्ये ६ वटा वडामा अत्यधिक विवाद थियो ।
२, ३, ५ र ९ नम्बर वडाका मतदान स्थललाई नेकपा एमालेका कार्यकर्ताहरुले नियन्त्रणमा लिएको काङ्ग्रेसको आरोप रहेको थियो भने वडा नम्बर ४ र ७ लाई काङ्ग्रेसले नियन्त्रणमा लिएर आफू अनुकूल एकोहोरो मतदान गरेक एमालेको आरोप छ । विवाद बढेर मतगणना हुन नसके पछि विवादवारे अध्ययन गर्न निर्वाचन आयूक्त सगुन सम्शेर जबरासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाजुरा पुगेको थियो ।आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक चतुर्भुज ओझा र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाई अरु कर्मचारी पठाएर निर्वाचनको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको हो।