जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार ०८:३९

काठमाडौंलाई देशको मात्र नभएर विश्वकै नमूना सहर बनाउन सहकार्य गर्नेछौं – नवनिर्वाचित मेयर बालेन


काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गर्नुभएको छ । मेयरमा निर्वाचित भएलगत्तै सम्बोधन गर्दै शाहले आफूले निर्वाचनको परिणामलाई एउटा सुरूआतको रूपमा लिएको बताउनुभयो ।

‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, उहाँले भन्नुभयो, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’ उहाँले काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको बताउनुभएको छ । ‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधै परिवार नै थियो र परिवारनै रहनेछ’, उहाँले भन्नुभाये हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं।’नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित हुनुभएको छ ।

यो मेयर पदमा खसेको कुल सदर मतको ३८.६३ प्रतिशत हो। उहाँले नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहलाई हराउनुभयो । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएकी सिंहले ३८ हजार ३४१ मत पाउनुभएको छ। एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाउनुभएको छ । यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले ६८ हजार ६१२ मत पाउनुभएको छ । उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २३ हजार ८०६ मत पाउनुभयो ।