जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार १६:३०

यौन हिंसा उजुरीको हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता


काठमाडौं, १३ जेठ । यौन हिंसा उजुरीको हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । सांसद् कमला पन्तको प्रस्तावमा विमला राय पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह, शेखर कुमार सिंह, गंगा कुमारी बेलबासे र तुलप्रसाद विश्वकर्माले राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

यौन हिंसा सम्बन्धी उजुरीका लागि रहेको विद्यमान हदम्याद सम्बन्धी व्यवस्था हटाउन माग संकल्प प्रस्ताव दर्ता गराएका हुन् । हदम्यादका कारण पीडितले न्याय नपाउने र पीडकले सजायबाट उन्मुक्ति पाउने अवस्था देखिएको संकल्प प्रस्तावमा उल्लेख गरिएको छ । नेपालमा यौनजन्य हिंसामा हिंसा भएको एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने हदम्याद छ । यसरी उजुरी दिने हदम्याद राखिँदा पीडितहरुले न्याय पाउन नसकेको भन्दै संकल्प प्रस्ताव संसदमा दर्ता गरिएको हो ।

बालबालिका संरक्षण सम्बन्धि एने २०७५ को दफा ७४, उपदफा २ र मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा २ मा रहेको यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धि व्यवस्था हटाउनुका साथै दण्ड सजायको व्यवस्थासमेत पुनरावलोकन गर्न जरूरी देखिएको संकल्प प्रस्तावमा उल्लेख गरिएको छ ।

संकल्प प्रस्तावमा बाल यौन दुर्व्यवहारको कसुरमा सजायको लागि उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्था पुर्णत हटाउने र बालबालिका बाहेक अन्यको हकमा समेत बलात्कार जस्तो जघन्य अपराधमा उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन र पुनर्विचार गर्न आवश्यक संशोधन गर्नुपर्ने माग गरिएको छ ।