जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार १७:०८

गोकर्णेश्वर नगर कार्यपालिकामा एमाले उम्मेदवार निर्वाचित


काठमाडौं, जेठ १३ । गोकर्णेश्वर नगरपालिका कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेको समूह निर्वाचित भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि नेपाली कांग्रेस र एमाले गरी दुई दलले उम्मेदवारी दर्ता गराएकोमा एमालेको समूह निर्वाचित भएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिनुभयो ।

निर्वाचित हुने महिला सदस्यमा लक्ष्मी भण्डारी, सरिता मिजार, गौरीमाया श्रेष्ठ, माया तामाङ र सीता दर्जी हुनुहुन्छ । यसैगरी दलित तथा अल्पसङ्ख्यक सदस्यमा पासाङ्वाङ्चु शेर्पा, देवीमाया लिम्बु राई कुलुङ् र हरिबहादुर विक निर्वाचित हुनुभएको छ । निर्वाचित पाँचै जना उम्मेदवारले २४ मत पाउनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेसका उम्मेद्वारले भने २३ मत पाएका थिए ।

कार्यपालिका निर्वाचनका लागि ४७ मतदाता थिए । कार्यपालिका निर्वाचनका लागि निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेबाट २४, कांग्रेसबाट २२ र स्वतन्त्र एक सदस्य नगरसभामा निर्वाचित भएका थिए । स्वतन्त्रको मत पनि कांग्रेसलाई गएको छ । नगरपालिकाको–४ मा अध्यक्ष निर्वाचित जयराम महत कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र लडेर विजयी हुनुभएको थियो । विसं २०७४ मा महत वडा नं ४ को वडा सदस्यमा कांग्रेसका तर्फबाट विजयी हुनुभएको थियो ।

कार्यपालिकामा पाँच महिला सदस्य निर्वाचित नगरसभा सदस्यबाट उम्मेदवार हुने व्यवस्था छ । दलित तथा अल्पसङ्ख्यकको उम्मेदवारी भने नगरसभा सदस्य बाहिरका नगर क्षेत्रका मतदाताबाट परेको जनाइएको छ । नगर कार्यपालिकामा नगर प्रमुख र उपप्रमुख, नौ वटै वडाका अध्यक्ष रहने व्यवस्था छ ।

गोकर्णेश्वर नगर प्रमुख कांग्रेस र उपप्रमुख एमालेले जितेको छ । पाँच वडा अध्यक्ष एमाले, तीन वडा अध्यक्ष कांग्रेस र एक वडा अध्यक्ष स्वतन्त्रका उम्मेद्वार निर्वाचित भएका छन् । गोकर्णेश्वरका निर्वाचित जनप्रतिनिधिले सपथ लिएर कार्यभार सम्हालिसकेका छन् । कार्यपालिकाको निर्वाचन भएसँगै नगरपालिकाको कार्य सञ्चालनमा सहजता आएको जनाइएको छ ।