जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार १७:३७

चितवनमा पहिलो दल बन्यो एमाले, यस्तो छ निर्वाचित जनप्रतिनिधिको सूची


चितवन, जेठ १३ । पाँच दलीय सत्ता गठबन्धनको घेरावन्दी तोडदै चितवनमा नेकपा एमाले सवैभन्दा ठूलो दल बनेको छ । सात स्थानीय तहमध्ये तीन प्रमुख, चार उपप्रमुख र ३६ वडाध्यक्ष जितेर चितवनमा एमाले पहिलो दल बनेको हो ।

पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल ५०४ जनप्रतिनिधिमध्ये एमालेबाट सय ४२ जना निर्वाचित भएका छन । स्थानीय तह निर्वाचनमा चितवनका ७ वटै पालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको थियो । गठबन्धनसँग एक्लै भिडेको एमालेले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राप्रपासँग तालमेल गरेको थियो ।

अघिल्लो चुनावमा रत्ननगर नगरपालिका, खैरहनी नगरपािलका, कालिका, नगरपालिका, राप्ती नगरपालिकामामा प्रमुख र उपप्रमुख दुबै पद र माडी नगरपालिकामा उपप्रमुख पद जितेको एमालेले यसपटक रत्ननगर र खैरहनीमा प्रमुख पद गुमाएर उपप्रमुख पद मात्रै जितेको छ । राप्तीमा भने प्रमुख र उपप्रमुख दुबै गुमाएको छ । यस्तै एमालेले कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै पद जितेको छ भने माडीमा प्रमुख पद जितेको छ ।

दलगत रूपमा हेर्दा एमाले एक्लैले धेरै पालिका प्रमुख र उपप्रमुख जितेको छ । वडा अध्यक्ष भने धेरै गुमाएको छ । अघिल्लोपटक ५७ वडा जितेको एमालेसँग अहिले ३६ वडाध्यक्ष मात्रै रहेका छन । एमालेले भरतपुरमा ६, रत्ननगरका ५, खैरहनीका ७, राप्तीका ८, कालिकाका ४, इच्छाकामनाका ५ र माडीको एक गरी ३६ वडा जितेको हो ।

चितवनको राप्ती र खैरहनी यसपटक पनि जित्ने बलियो सम्भावना भए पनि आफ्नै कमजोरीले गुमेको नताहरुले बताएका छन । एमालेले राप्ती नगरपालिकालाई आफ्नो आधार क्षेत्र मान्दै आएको थियो । एमाले चितवनले जिल्लाका सात पालिकामध्ये जित्ने एक नम्बर सूचीमा राखेको थियो । राप्तीमा एमालेले ८ वडाध्यक्षसहित ४६ जनप्रतिनिधि जित्न सफल भएको छ । राप्ती नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका शम्शेर लामा र उपप्रमुखमा कांग्रेसका देवेन्द्र लामा निर्वाचित भएका छन् ।

पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्षसमेत रहेका सुरेन्द्र पाण्डे, पूर्व प्रदेश मन्त्री दावा दोर्जे लामा, स्थायी कमिटी सदस्य सीता पौडेल, केन्द्रीय सदस्य प्रभा बराल, जिल्ला संगठन विभाग प्रमुख घनश्याम कँडेलको पालिका राप्तीमा एमालेबाट प्रमुख उठेका गोविन्द कँडेल ४ सय ७३ मतले पराजित हुनुभयो ।

चितवनको खैरहनी नगरपालिकामा माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाका कुनै पनि पदका उम्मेदवार निर्वाचित हुन सकेनन । कांग्रेसका २७, एमालेका ४० जना जनप्रतिनिधिले जित्दा माओवादी, एकीकृत समाजवादी र राप्रपाबाट एक जना सदस्यले पनि जित्न सकेनन । सो नगरपालिमा ६७ जना जनप्रतिनिधि निर्वाचित भएका छन । माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएर माओवादी केन्द्रकी लक्ष्मी ढकालले उपमेयरमा उम्मेदवार बन्नुभएको थियो ।

यस्तै राप्ती नगरपालिकामा माओवादीका १ र एकीकृत समाजवादीका २ जना जनप्रतिनिधि मात्रै निर्वाचित हुँदा एमालेबाट ४६ र कांग्रेसबाट १७ जना जनप्रतिनिधि निर्वाचित भएका छन । कालिका नगरपालिका र रत्ननगर नगरपालिकाबाट माओवादीका ५/५ जना जनप्रतिनिधिले मात्रै जितेका छन । एकीकृत समाजवादीले इच्छाकामना, कालिका, रत्ननगर नगरपालिकामा एक सिट पनि जित्न सकेन ।

जिल्ला समन्वय समितिमा बराबरी मत

अघिल्लोपटक माओवादीको समेत सहयोगमा जिल्ला समन्वय समिति जितेको एमालेका लागि यसपटक भने चुनौती थपिएको छ । जिल्लाका सात पालिकामा १४ जना प्रमुख र उपप्रमुखमा एमालेबाट ७ जना र पाँच दलीय गठबन्धनबाट ७ जना निर्वाचित भएका छन ।
जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुख मतदाता रहने ब्यवस्था छ । अहिलेको पाँच दलीय गठबन्धनमा कुनै फेरबदल नआए जिससको निर्वाचनमा गोलाप्रथा हुने देखिएको छ ।