जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार १९:०६

पत्नी हत्यामा संलग्न रन्जन कोइराला नयाँ बानेश्वरबाट पक्राउ


काठमाडौं,१३ जेष्ठ ।पत्नी हत्यामा संलग्न रन्जन कोइराला पक्राउ परेका छन् । शुक्रवार उनी काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बलका पूर्वडिआईजी कोइरालालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको  अपराध अनुसन्धान कार्यालयले जनाएको छ । बिहिबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले उनलाई जन्मकैदको फैसला गरेको थियो । यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला पुनरावलोकन भएसँगै उनी फेरि पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला र उच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । २०७७ असार १५ मा तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो ।

काठमाडौंको इचंगुनारायण घर भएका रञ्जनले सशस्त्रको डिआईजी हुँदा पत्नी गीता ढकालको हत्या गरेका थिए । गीता बूढानिलकण्ठ–५ मा बस्थिन् । ११ महिने नेशनल डिफेन्स कोर्षका लागि ०६८ भदौमा चिन गएका रञ्जनले बिदामा आएर पत्नीको हत्या गरेका थिए । गीताको शव पुस २८ मा मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपथको मेत्राङमा जलाएको अवस्था फेला परेको थियो ।