जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार १९:०९

पत्रकारिताको आवरणमा ब्ल्याकमेलिङको धन्दा : पाँच पत्रकारसहित सात जना पक्राउ


काठमाडौं, जेठ १३ । पत्रकारिताको आवरणमा ब्ल्याकमेलिङको धन्दा चलाइरहेको तथ्य बाहिर आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एउटा घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका सातमध्ये पाँच जना पत्रकार रहेको पाइएपछि यो तथ्य बाहिर आएको हो ।

कार्यालयले पत्रकार, विज्ञापन एजेन्सीका कामदार, दलको नेता अनि सर्वसाधारण गरी सात जना मिलेर भिडियो खिची ब्ल्याकमेल गर्दै सात करोड रुपैयाँ मागेको आरोपमा समातिएका सात जनालाई आज सार्वजनिक गरेको छ । यसरी सार्वजनिक भएकामध्ये सुजन आचार्य, टेक विक, धर्मराज थापा, उमेश भण्डारी, बसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्की रहेका छन । उनीहरुमाथि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले योजनाबद्ध तरिकाले पीडितलाई पटक–पटक फोन गरी, प्रत्यक्ष भेटेर डर, धम्की र त्रास देखाएर ७ करोड मागेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने म्यादसमेत प्रहरीले लिएको छ ।

कार्यालयका एक अधिकारीले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार पत्रकार सुजन यस अगाडि पनि प्रहरीसँग मिलेर हिरा लुटेको अभियोगमा २१ महिना जेल परेर छुटेका थिए । जेल पर्नुभन्दा केही समय अघिसम्म उनी एबिसी टेलिभिजनमा काम गर्ने गरेका थिए । जेलबाट छुटेर पनि उनले पुरानै धन्दा अगाडि बढाएको पाइएको प्रहरीले जनाएको छ । लुटपाटमा जेल पर्नुअघि उनी एबिसी टेलिभिजनको क्राइम सम्बन्धी ‘डायल १००’ कार्यक्रम सञ्चालन गर्थे ।

यस्तै धर्मराज थापा नेपालताराडटकममा काम गर्दै आएको जानकारी दिएको प्रहरीले जनाएको छ । सो अनलाइन पूर्वएसएसपी बिक्रमसिंह थापाले सञ्चालन गरेको मिडिया हो । यस्तै पक्राउ परेकामध्ये सुरज कार्की र बशन्ता पनि एबिसी टेलिभिजनमा केही समय काम गरेर छाडेको र त्यसपछि यस्तो काममा लागेको पाइएको छ । यसैगरी पक्राउ परेका उमेश कारोबार नामक विज्ञापन एजेन्सीसँग सम्बद्ध देखिएका छन । टेक विक भने नेत्रविक्रम चन्दको पार्टीका विद्यार्थी नेता हुन भने सुरज शर्मा र श्रवण कार्की सर्वसाधारण रहेको प्रहरीको भनाई छ ।

ग्ल्यामर फिल्डकी एक महिलाको ‘यौन भिडिओ’ मा उनीहरुले ७ करोडको बार्गेनिङ गरेका थिए । प्रहरीका अनुसार बिग्रिएको ल्यापटप बनाउने ठाउँबाट यो धन्दा अघि बढाइएको पाइएको छ ।