जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार १९:२२

पक्राउ परे सशस्त्रका पूर्वडिआइजी रञ्जन कोइराला


काठमाडौं, जेठ १३ । पत्नी हत्यामा जन्मकैदको फैसला सुनाइएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वडिआइजी कोइरालाई आज पक्राउ गरेको हो ।

कोइरालालाई काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरिएको हो । तात्कालिन डीआईजी कोइरालाले करिब ९ वर्ष पहिले पत्नी गीता ढकालको हत्या गरेको पुष्टि भएपछि जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएको थिए । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरासमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए।

तर, बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु टंक मोक्तान र कुमार चुडालको इजलास निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको फैसलालाई उल्ट्याउँदै जन्मकैदकै सजाय हुने फैसला सुनाएको थियो । फैसलासँगै ८ वर्ष जेल बिताइसकेका कोइराला अब थप साढे ११ वर्ष जेल बस्नुपर्ने भएको छ । प्रहरीले अदालतको फैसलालगत्तै मोवाइल स्वीच अफ गरेर बसेका कोइरालालाई भोलिपल्टै पक्राउ गरेको हो ।