जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार २१:३९

प्रधानमन्त्री देउवा चुच्चे नक्सा र ईपीजीबारे चुँ पनि गर्नुभएन : वरिष्ठ उपाध्यक्ष पोखरेल


काठमाडौं, जेठ १३ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकाएको बताउनुभएको छ । आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यता र राष्ट्रिय हित विपरीतका कुराहरूलाई लुकाउने प्रयास गरेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणको क्रममा ईपीजी प्रतिवेदन र चुच्चे नक्साको कुरा नगर्नु खेदजनक भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रममा सरकारले परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको चरम अयोग्यता र राष्ट्रिय हित विपरीतका कुराहरू लुकाउने प्रयास गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका समयमा आफ्ना कुरा उठाउन सक्नुभएन । म लज्जाबोध गर्दछु । त्यहाँ उहाँको लाचारीपूर्ण उपस्थिति मात्रै रह्यो । नेपाल–भारत दुवै देशका सरकारका प्रतिनिधिको तर्फबाट सहमतिमा तयार गरिएको ईपीजी प्रतिवेदन र नेपालको चुच्चे नक्सा जस्ता महत्त्वपूर्ण विषयमा प्रधानमन्त्रीजीले चुँसम्म पनि गर्नुभएन ।

यो खेदजनक कुरा थियो ।’वरिष्ठ उपाध्यक्ष पोखरेलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको उपस्थिति लज्जाजनक भएको बताउनुभयो । त्यसैगरी उहाँले सरकार एक चीन नीतिको विपरीत अगाडि बढेको हो रु भन्ने प्रश्नसमेत गर्नुभयो । अमेरिकी विदेश सहायक मन्त्रीको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई भेट्न दिएकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।
पोखरेलले एमालेलाई हमला गरेर सिध्याउने र पालिका चुनाव नगरेर डरलाग्दो रिक्तता सिर्जना गर्ने सत्तारूढ गठबन्धनको योजना असफल भएको दाबी गर्नुभयो ।