जनता टाइम्स

१४ जेष्ठ २०७९, शनिबार ००:००

अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसका अवसरमा विविध कार्यक्रम


जुम्ला, १४ जेठ । आज २८ मे अर्थात अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस । विश्वभर आज विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइदै छ । यही क्रममा जुम्लामा पनि चन्दननाथ–९ का ४० भन्दा बढी महिलालाई स्यानिटरी प्याड विततरण गरिएको छ । एसएनभी नेपाल, मित्र नेपाल, पेस नेपाल र चन्दननाथ नगरपालिका–९ वडाको कार्यालयको आयोजनामा महिनावारीका विषयमा विभिन्न छलफल तथा चेतनामूलक कार्यक्रम गरिएको छ ।

कार्यक्रममा महिनावारी मैत्री शौचालय भए नभएको, महिनावारी हुँदा गरिने खानेपिन तथा सरसफाई बारे छलफल गरिएको छ । कार्यक्रममा किशोरीहरूमा महिनावारी बारे पर्याप्त सूचनाको अभाव रहेको र त्यसले उनीहरूको शिक्षा र स्वास्थ्यमा असर परेको एसएनभी नेपालका नन्दलाल धरालाले बताउनुभयो । महिनावारी प्राकृतिक प्रकृया हो । महिनावारी हुनु आमा बन्न तयार हुनु हो ।

महिनावारी स्वच्छता कार्यक्रममा चन्दननाथ नगरपालिकाका उपमेर रामदेवी खड्काले गम्भीर समस्याको रुपमा रहेको छाउपडी प्रथालाई न्युनकरणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘न्युन आय भएका महिलालाई महिनावारी स्वच्छता कायम गर्न समस्या परेको छ ।’ उहाँले दिवसको रुपमा नभएर सबै कुरा ब्यवहारमा लागु गर्नु पर्ने बताउनुभयो । उपमेयर खड्काले महिनावारी हुँदा सबैभन्दा बढी पोषिलो खाने कुरा खान र सरसफाईमा ध्यान दिन पनि आग्रह गर्नुभयो ।