सुनसरी, भदाै २५ । समयमा उपचार नपाउँदा सर्पले डसेकी एक जना बालिकाको ज्यान गएको छ ।
बुधबार बेलुका सर्पले टोकेकी इटहरी उपमहानगरपालिका–५ की अस्मित चौहानकी ८ वर्षीय छोरी आस्वाना चौहानको समयमै उपचार नपाउँदा मृत्यु भएको हो । सुनसरी स्वास्थमन्त्री निशा मेहताकाे गृहजिल्ला हाे । यसरुपमा उपचार नपाएर बालिका चाैहानले मन्त्रीकै घर-आँगनमा प्राण त्यागेकाे अधिकारकर्मीकाे भनाई छ ।
घरमा रहेका बेला बालिकालाई गोमन सर्पले बायाँ हातमा टोकेको थियो । सर्पले टोकेको जानकारी तत्कालै परिवारलाई जानकारी भएन । हातमा रगत देखेपछि मात्र थाहा पाएका परिवारले तत्कालै इटहरीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए ।
तर, सेनाको उपचार केन्द्रमा बालिकालाई एन्टी स्केन भेनम चलाउँदा सघन उपचार कक्ष चाहिने भएकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरियो । इटहरीको उपचार केन्द्रमा बालिकालाई राख्ने सघन उपचार कक्ष थिएन ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सुरु भयो । उनलाई तत्कालै पीआईसीयूमा (बाल सघन उपचार कक्ष) चाहियो । तर प्रतिष्ठानमा पीआईसीयू खाली थिएन । प्रतिष्ठानमा रहेका चार वटा पीआईसीयू प्याक भएका कारण बालिकालाई भर्ना गर्न नसकिने बताएर पठाइयाे ।
त्यसपछि अभिभावकले हतारहतर मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा ल्याए । धरानमा नै बालिकाको अवस्था जटिल बनिसकेको थियो । विराट शिक्षणमा ल्याउँदासम्म बालिकाको अवस्था थप जटिल बन्यो । उपचार सुरु गरेको केही समयपछि बेलुका करिब साढे ८ बजे बालिका चाैहानले प्राण त्यागिन ।

बालिकाका काका मनिराज चौहान समयमा नै सघन उपचार कक्ष पाएको भए आश्वानालाई बचाउन सकिन्थ्यो भन्दै भक्कानिए । उनका अनुसार इटहरीमा उपचार नुहने भनेपछि हतारहतार घोपा पुर्याएर उपचार सुरु भयो । एन्टीभेनम रेडी गरेर हातमा स्लाइन लगाइयो ।
त्यसपछि उनलाई भेन्टिलेटर आईसीयूमा राखेर उपचार गर्नुपर्छ, हामीसँग छैन भनेर मृृत्यूकाे मुखमा धकेलिदिए । परिवारले आँत्तिदै विराट टिचिङ लगेपनि बचाउन सकेनन ।
इटहरीकै चाैहान परिवारले भाेगेकाे याे पीडादायी घटनाले सत्ताकाे कुरुप अनुहार उजागर गरिदिएकाे अधिकारकर्मीहरूकाे धारणा छ ।














प्रतिक्रिया दिनुहोस्