जनता टाइम्स

२७ भाद्र २०८३, शनिबार ०८:०५

आज विश्व प्राथमिक उपचार दिवस, ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ नारासहित मनाइँदै


काठमाडौं, भदौ २७ । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ ।

विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढिरहेको छ । नेपालमा पनि विपद्, बाढीपहिरो तथा अन्य आकस्मिक घटना र अवसरको खोजीमा मानिसहरू बसाइँसराइ गर्ने गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीका अनुसार बसाइँसराइको क्रममा अनिश्चित जीवन अवस्था, जीविकोपार्जनका उपायको अभाव, आधारभूत स्वास्थ्य सेवामा पहुँचको कमी, जोखिमपूर्ण मार्गको प्रयोग, भाषा तथा संस्कृतिको अपरिचितता र प्रशिक्षणको अभावजस्ता चुनौती सामना गर्नुपर्ने हुन्छ ।

यस्ता कारणले बसाइँसराइ गर्ने व्यक्तिमा एक्लोपन, थकान, मानसिक दबाब, स्वास्थ्यमा गिरावट तथा मानसिक तनाव देखिन सक्ने रेडक्रसले जनाएको छ ।

बसाइँसराइका क्रममा डिहाइड्रेसन, हाइपोथर्मिया, कुपोषण, थकान, चोटपटक, डुब्ने जोखिम, असुरक्षित काम गर्नुपर्ने अवस्था तथा मनोवैज्ञानिक पीडाजस्ता समस्या पनि हुन सक्ने जनाइएको छ ।

यस्तो अवस्थामा प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीपले घाइते तथा बिरामीको तत्काल उद्धार गर्न, स्वास्थ्य अवस्था थप बिग्रन नदिन र जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने रेडक्रसको भनाइ छ ।

महामारी, दुर्घटना, विपद्, द्वन्द्व तथा अन्य आकस्मिक परिस्थितिमा प्राथमिक उपचारको आवश्यकता बढिरहेको उल्लेख गर्दै रेडक्रसले हालैको भोटेकोशी बाढीका क्रममा प्रशिक्षित स्वयंसेवकहरूले प्राथमिक उपचार, मनोवैज्ञानिक प्राथमिक उपचार तथा अन्य मानवीय सेवा प्रदान गरेको जनाएको छ ।

नेपाल रेडक्रसले सरकारका सुरक्षा निकाय, संयुक्त राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, कूटनीतिक नियोग तथा औद्योगिक र व्यावसायिक क्षेत्रसँग समन्वय गरी प्राथमिक उपचारसम्बन्धी प्रशिक्षण तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

विश्व प्राथमिक उपचार दिवसका अवसरमा रेडक्रसले प्राथमिक उपचारको ज्ञान, सीप र अभ्यासलाई व्यापक बनाउन तथा ‘हरेक घरमा एक प्राथमिक उपचारकर्ता’ भन्ने अभियानलाई सार्थक बनाउन सबैलाई आह्वान गरेको छ ।