जनता टाइम्स

१४ जेष्ठ २०७९, शनिबार २१:१३

भारतमा १० प्रतिशत महिलाले आफ्नो श्रीमानलाई पिट्छन् : अध्ययन


काठमाडौं, जेठ १४ । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भएको छ । भारतको राजस्थानको त्यस भिडियोमा एक जना महिलाले आफ्नो श्रीमानलाई कोठाभित्र क्रिकेटको ब्याटले पिट्दै गरेको देखिन्छ ।

पिटाइ खाने ती व्यक्ति स्थानीय एक विद्यालयका प्रधानाध्यापक भएको र उनको नाम अजित सिंह भएको बताइएको छ । उनको घरको सीसी क्यामेरामा कैद भएको यस भिडियोमा श्रीमतीले नराम्रोसँग पिटेको दृश्य देखिन्छ ।

भारतमा आफ्नो श्रीमतीको पिटाइ खानेमा अजित सिंह एक्लो व्यक्ति भने होइनन् । भारतमा प्रत्येक दशमा एक जना महिलाले आफ्नो श्रीमानलाई पिट्ने गरेको एक अध्ययनले देखाएको छ । नेशनल फेमिली हेल्थ सर्भेका अनुसार १८ देखि ४९ वर्ष उमेर समूहकी महिलामध्ये १० प्रतिशतले आफ्नो श्रीमानलाई कहिले न कहिल्यै पिटेका छन् । त्यो पनि उनका श्रीमानले कुनै पनि प्रकारको हिंसा नगरेको अवस्थामै त्यसरी पिट्ने गरेको अध्ययनले जनाएको छ । यसरी दश प्रतिशत महिलाले बिना कारण नै आफ्नो श्रीमानलाई पिट्ने गरेका छन् ।

अध्ययनको लागि गरिएको त्यस सर्भेमा ११ प्रतिशत महिलाले विगत एक वर्षमा आफ्नो श्रीमानलाई पिटेको बताएका थिए । सर्भेका अनुसार उमेर बढेसँगै श्रीमासँग हिंसा गर्ने श्रीमतीको संख्या बढी रहेको बताइएको छ ।

यस्तै अध्ययनबाट प्राप्त तथ्याँकका अनुसार सहरमा भन्दा गाउँमा बस्ने महिलाले आफ्नो श्रीमानसँग बढी हिंसा गर्ने गरेका छन् । सहरी क्षेत्रका ३ दशमलव ३ प्रतिशत र गाउँमा रहने ७ दशमलव ७ प्रतिशतले आफ्नो श्रीमानसँग हिंसा गरेको अध्ययनमा उल्लेख छ ।

एजेन्सी