जनता टाइम्स

१६ जेष्ठ २०७९, सोमबार ०८:४५

मानापाथी हिमालको फेदमा भेटियो हराएको विमान


जोमसोम, आइतबार बिहान १०ः१० बाट सम्पर्क विच्छेद भइ मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एन एईटी जहाज सोमबार फेला परेको छ। जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको हो ।

समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा तारा एअरको जहाज दुर्घटना भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । प्रजिअ शर्माका अनुसार थासाङको मानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जना टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार बिहानैदेखि हराएको जहाज खोजी कार्य सुरु गरेको थियो। जहाज पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने जहाजका सामान छरपस्ट रुपमा पहाडमा छरिएको जहाज खोज्न गएका युवा सुमित गौचनले जानकारी दिनुभएको छ ।

हराइरहेको जहाज भेटिएपछि जोमसोमबाट ३ वटै सुरक्षा निकायको टोली अहिले उद्धारका लागि घटना स्थलमा पुगेको प्रहरी निरीक्षक रामकुमार दानीले जानकारी दिनुभयो । अहिले जहाजको अवस्था बुझ्न जोमसोमबाट फिस्टेल एअरको हेली घटना स्थलतर्फ प्रस्थान गरेको प्रशासनले बताएको छ ।

जहाजमा चालक दलका सदस्य क्याप्टेन प्रभाकर घिमिरे, को–पाइलट उत्सव पोखरेल, एयर होस्टेज क्रिष्टी थापा, यात्रु बान्देकर वैसवी,इन्द्रबहादुर गोले, पुरुषोत्ताम गोले, राजनकुमार गोले, मेइक ग्रिटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर थिए।