जनता टाइम्स

३० असार २०७६, सोमबार १९:१३

कांग्रेस निकट कर्मचारी युनियनका नेता घुसको रकमसहित पक्राउ


काठमाडौं, असार ३०

नेपाली कांग्रेस निकट कर्मचारी युनियन नेपालका काठमाडौं महानगरपालिकाका अध्यक्ष घुसको रकमसहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिकाका नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख सात हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

महानगरको समाजिक विकास विभागका नायव सुब्बा (पाँचौ तह) कृष्णप्रसाद सोतीलाई अख्तियारको टोलीले सोमबार उक्त परिमाणको घुससहित नियन्त्रणमा लिएको हो । सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभागमार्फत आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियारको टंगालस्थित टोलीले पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले सेवाग्राहीबाट एक लाख सात हजार घुस लिइसकेको अवस्थामा कार्यलय परिसर बरमहलबाट रङ्गेहात पक्राउ गरिएको जानकारी दिनुभयो ।