जनता टाइम्स

१६ जेष्ठ २०७९, सोमबार २३:१५

यौनजन्य अपराधका घटनामा एक वर्षे हदम्याद हटाउन सांसद पाण्डेको माग


काठमाडौं, जेठ १६ ।  नेकपा एमालेकी सांसद विन्दा पाण्डेले बालिका तथा महिलामाथि हुने यौनजन्य अपराधका घटनामा एक वर्षभित्र उजुरी दिनुपर्ने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ । सांसद पाण्डेले बालिकाहरूले आफूलाई त्यस्ता अपराधका घटना भएको भन्न सक्ने सहज वातावरण बन्न सातरआठ वर्ष कुर्नुपर्ने अवस्था रहेको देखिएको उल्लेख गर्दै यौनजन्य अपराधका घटनामा एक वर्षभित्र उजुरी दिनुपर्ने कानुनी व्यवस्था उचित नभएको बताउनुभयो ।

एमाले निकट अखिल नेपाल महिला सङ्घले आज सोमवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले बालिका तथा महिलाहरूमाथि हुने यौनजन्य हिंसा अन्त्यका लागि सामाजिक जागरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो । सांसद पाण्डेले यौनजन्य जघन्य अपराधका घटनाका पीडितलाई क्षतिपूर्ति मात्रै नभइ परिपूरणको पनि व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।