जनता टाइम्स

३० असार २०७६, सोमबार २०:१६

काठमाडौँ महानगरपालिकाको बजेट बहुमतले पारित, यस्ता छन बिकाश योजना


काठमाडौं, असार ३० । काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७६–७७ को बजेट बहुमतले पारित भएको छ । नगरसभाको पाँचौँ अधिवेशनको चौथो बैठकबाट बजेट बहुमतले पारित भएको हो ।

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरेको बजेटमा सामान्य संशोधनसहित बहुमतले पारित भएको हो । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १५ अर्व ५० करोड ७० लाख १२ हजारको बजेट सार्वजनिक गरेको थियो । बजेटमा महानगर भवन निर्माण गर्ने, वडा भवन निर्माण गर्ने, ठूला पार्क निर्माण गर्ने जस्ता कार्यक्रम समावेश गरिएको छ । त्यसैगरी बजेटमा महानगरपालिका भित्र रहेका ९१ ओटा सामुदायिक विद्यालयमा रंगरोगन गर्ने, सौचालय निर्माण गर्ने, फोहोर व्यवस्थापन गर्ने, खेल मैदान निर्माण गर्ने जस्ता कुरा बजेटमा समावेश गरेको काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।

सार्वजनिक जग्गा संरक्षण र विद्यालय तहको पाठ्यक्रम निर्माणका लागि पनि बजेटको व्यवस्था गरेको महानगरपालिकाले जानकारी दिएको छ । आकाशे पुल निर्माण गर्ने, फ्लाई ओभर निर्माण गर्ने जस्ता कुरामा पनि बजेट विनियोजन गरिएको छ । महानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेको छ । त्यसैगरी सामाजिक विकाश, शिक्षा, सम्पदा तथा पर्यटन, शहरी योजना जस्ता कुरामा पनि बजेट व्यवस्था गरेको छ ।

महानगरपालिकाले वडास्तरीय भौतिक पूर्वाधार विकास कार्यका लागि मात्रै ७५ करोड ५५ लाख छुट्याएको छ । गत आर्थिक वर्षमा जस्तै यो पटक पनि महानगरपालिकाले ३२ वोटै वडालाई बजेट छुट्याएको छ । ठूलो, मझौला र साना गरी तीन तहमा वटालाई छुट्याएर बजेट विनियोजन गरेको हो । ठूला १५ ओटा वडालाई ३ करोड ११ लाख, १० ओटा मझौला वडालाई २ करोड ९ लाख र साना ७ ओटा वडालाई १ करोड ५७ लाख ५७ लाख २५ हजार व्यवस्था गरेको छ । त्यसैगरी महानगरपालिकाले साझा विद्युतीय वस खरीद एव सञ्चालनका लागि १० करोड व्यवस्था गरेको छ ।