जनता टाइम्स

३१ असार २०७६, मंगलवार ०५:५२

अदालतको आदेशपछि भत्काइयो अपार्टमेन्टले जवर्जस्ती बनाएको पुल


ललितपुर, असार ३१ । उच्च अदालत पाटनको आदेशपछि मेरो सिटी अपार्टमेन्टले कर्मनाशा खोलामा बनाएको अनधिकृत पक्की पुल भत्काउन थालिएको छ । मेरो सिटी अपार्टमेन्टले स्थानीयबासीलाई डुवानमा पार्दै शक्तिको आडमा बलजफ्ती पक्की पुल बनाएको थियो ।

उच्च अदालतका न्यायाधीश चिन्तामणि बराल र रामप्रसाद ओलीको संयुक्त इजलासले दुई महिनाअघि नै पुल भत्काउन अनुमति दिने निर्णय गरेको थियो । उक्त पुलका कारण हात्तीवन क्षेत्रमा बर्सेनी डुबान हुँदै आएको छ । निरन्तर वर्षाका कारण शुक्रबार र शनिबार डुबान सुरु भएपछि पुल भत्काउन थालिएको २३ वडाका अध्यक्ष भुयुकाजी महर्जनले जानकारी दिनुभयो । अदालतको फैसलामा रोयल अर्किड डेभलपर्स प्रालिले बनाएको साँघुरो पुलका कारण नदीको वहाब रोकिएर बस्तीमा पसेको उल्लेख छ । प्रभावित क्षेत्रका मानिसले साँघुरो पुलका कारण खोलाको वहाब रोकिएपछि बस्तीमा पानी पसेर जनधनको क्षति गरेको बताएका छन् । पुलका कारण खोलाको निकास रोकिएकाले तत्काल भत्काई उपयुक्त व्यवस्थापन गर्नुपर्ने ठहर अदालतको छ । पुल भत्काउन जिल्ला प्रशासन कार्यालयले पनि अनुमति दिइसकेको थियो ।

गत वैशाख ४ गते नै पुल भत्काउने फैसला भइसकेको भए पनि जानकारी नपाएकोले ढिलाई भएको वडाध्यक्ष महर्जनको भनाइ छ । ‘मैले थाहा पाउनासाथ भत्काउन थालेँ, के थाहा रातारात निर्णय उल्टिने पो हो कि !’ महर्जनले भन्नुभयो । २८ वडाका अध्यक्ष राजेश महर्जन, १५ वडाका अध्यक्ष सुदर्शन मिश्रलगायतले अनधिकृत पुल भत्काउनुपर्ने विषयमा लामो समयदेखि लबिङ गर्दै आउनुभएको थियो । ललितपुर महानगरपालिका तथा जिल्ला प्रशासन कार्यालयले पनि गत वर्ष नै पुल भत्काउने अनुमति दिए पनि उक्त पुल भत्काउन सकिएको थिएन ।

१४ रोपनी १३ आनामा रोयल अर्किड डेभलपर्स प्रालिले बनाएको मेरो सिटी अपार्टमेन्टको अन्डरग्राउन्डबाट कर्मनाशा खोला बगेको छ । महानगरपालिकाले उक्त पुल भत्काउने अनुमति दिएपछि रोयल अर्किड डेभलपर्स प्रालिका प्रबन्ध सञ्चालक निर्मलकुमार अग्रवालले पुल नभत्काउन माग गर्दै अदालतमा निवेदन दिनुभएको थियो ।

खोलाको दुवैतर्फ आफ्नो जग्गा भएकाले आवतजावतका लागि पुल बनाएको भन्दै अग्रवालले उक्त पुल ०६६ साल चैत ३० मा तत्कालीन हरिसिद्धि गाविसबाट सिफारिस लिएर बनाएको उल्लेख गर्नुभएको छ । उक्त अपार्टमेन्ट गणेश अग्रवालको नाममा छ ।

हरिसिद्धि गाविसअन्तर्गत पास भएका बखत खोला भएको ठाउँमा व्यक्तिको जग्गा रहेको थियो । १५ नम्बरका अध्यक्ष मिश्रले ०२१ सालको नापीअनुसार उक्त जग्गा २८ नम्बरमा भए पनि हाल २३ मा परेको बताउनु भयो । ‘पहिला कर्मनाशा खोला बांगोटिंगो बग्थ्यो तर भूमाफियाले खोला नै सीधा बनाइदिए,’ उहाँले भन्नुभयो ।

अपार्टमेन्टको पूर्वतिर बिनाअनुमति तीन फिट उचाइमा बनाएको पुल र पर्खालका कारण पानी निकास नहुँदा गत वर्ष साउन २८ गते बाढी पसेर आई जे पायोनियर स्कुल, काठमाडौं विश्वविद्यालय डुबानमा परेको थियो । मेरो सिटीले जस्तै ग्वार्कोको किस्ट मेडिकल अस्पतालले पनि खोला अतिक्रमण गरेर पुल बनाएपछि उक्त क्षेत्र डुबानमा परेको थियो ।