काठमाडौं, जेठ १७ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य नियुक्त हुनुभएको छ । आज बसेको संसद बैठकले एमाले अध्यक्ष ओलीसहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्यमा थप्ने प्रस्ताव स्वीकृत गरेको हो ।
बजेटमाथि छलफल भइरहेको संसदको पहिलो दिनको बैठकको अन्तिमतिर सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित प्रतिनिधिसभा अन्तर्गतको विभिन्न समिति सदस्य थप तथा हेरफेर गर्न सहमतिका लागि प्रस्ताव गर्नुभएको थियो । प्रस्तावलाई संसद सदस्यहरुले सहमति प्रदान गरेका हुन । सो समितिको सभापतिमा एमाले सांसद पवित्रा निरौला खरेल हुनुहुन्छ । २२ सदस्यीय सो समितिमा सभापतिसहित एमालेबाट ७ जना सदस्य छन । अध्यक्ष ओलीसहित तीन जना थपिएपछि एमालेबाट सदस्य रहेका सांसदहरु हेरफेर हुनेछन ।
यसैगरी अर्थ समितिमा एमाले उपाध्यक्ष विष्णु पौडेलसहित हृदेयश त्रिपाठी र मीनेन्द्र रिजाल थपिनुभएको छ । यस्तै उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिमा लिलानाथ श्रेष्ठ र नवराज रावत थपिनुभएको छ । यसैगरी कानुन न्याय तथा मानव अधिकार समितिमा भानुभक्त ढकाल र जुली कुमारी महतो थपिनुभएको छ भने कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा पार्वत गुरुङ, राज्य व्यवस्था तथा सुशासन समितिमा कृष्णगोपाल श्रेष्ठ, विकास तथा प्रविधि समितिमा पदमा कुमारी अर्याल र वसन्त कुमार नेम्वाङ थपिनु भएको छ ।
शिक्षा तथा स्वास्थ्य समितिमा जगतबहादुर सुनार, सार्वजनिक लेखा समितिमा शिवमाया तुम्बाहाम्फे, गणेश सिंह ठगुन्ना थपिनुभएको छ । संसद बैठकले कार्य व्यवस्था परामर्श समितिको सदस्यमा पनि हेरफेर गरेको छ ।













प्रतिक्रिया दिनुहोस्