जनता टाइम्स

१८ जेष्ठ २०७९, बुधबार १५:११

पोखरा महानगरमा अन्तर्घात गर्ने कार्यकर्तामाथि एमालेले गर्यो कारबाही


काठमाडौं, जेठ १८ । नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकाका मेयर उम्मेदवार कृष्ण थापालाई हराउन खुलेआम गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको भन्दै तीन जना कार्यकर्तालाई कारबाही गरेको छ । चुनावको बेला भएको अडिओ रेकर्डका आधारमा उनीहरुलाई कार्वाही गरेको हो ।

कारबाहीमा पर्नेमा मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्य छन् । पहारीले प्रदेश सांसद राजीव पहारीको समेत नाम लिँदै विपक्षी दलका उम्मेदवार धनराज आचार्य जिताउन टेलिफोनमा पैसाको समेत लेनदेन गरेको अडिओ सार्वजनिक भएको थियो । आफूलाई राजीव पहारीको स्वकीय सचिवसमेत बताउँदै एमाले उम्मेदवार हराउन भूमिका खेलेको एमाले कास्कीको भनाइ छ । एमाले कास्कीले मनोजलाई संगठित सदस्यबाट लिनम्बन गरेको छ ।

त्यस्तै पोखरा ३३ वडाका उपाध्यक्ष महेश अर्याललाई पदीय जिम्मेवारीसहित संगठित सदस्यबाट समेत निलम्बन गरिएिको जिल्ला अध्यक्ष मनबहादुर गुरुङले प्रेस विज्ञप्तिमार्फत जनाउनु भएको छ । यसैगरी पोखरा ३३ कै अर्का कार्यकर्ता प्रशान्त आचार्यलाई पनि निलम्बन गरेको छ ।

पोखरा महानरमा एमालेका मेयर उम्मेदवार हराउन जिम्मेवार नेता कार्यकर्ता नै खुलेर लागेको र विपक्षी उम्मेदवार धनराज आचार्यसँग विभिन्न युवा समूह र अन्य क्लबका नाममा पैसा लिएको आरोप छ । अध्यक्ष गुरुङले प्राप्त तथ्यहरुको आधारमा कार्वाही गरिएको जनाउनु भएको छ ।