काठमाडौं, जेठ १९ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आफ्नो पालामा ब्याच मिचेर बढुवा नहुने प्रष्ट बटमलाइन सुनाउनु भएको छ । बिगतमा ब्याच मिचेर बढुवा गर्ने गरेको भन्दै पत्रकारको प्रश्नमा आइजीपी सिंहले आफ्नो पालामा त्यस्तो नहुने प्रष्ट पार्नुभएको हो ।
सरकारले १७ महिना जुनियर तपाईंलाई आईजीपी बनायो अब तपाईंको पालामा के हुन्छ ? भन्ने पत्रकारको जिज्ञासामा आइजीपी सिंहले भन्नुभयो, ‘ब्याचभित्रैबाट बढुवा हुन्छ । पछिको ब्याचबाट टिपेर अगाडि बढाइन्नँ ।’
आईजीपीको कार्यभार सम्हालेको एक महिनापछि प्रहरी प्रधान कार्यालयमा आज पत्रकार सम्मेलन गरी आइजीपी सिंहले आफ्नो पालामा सुधारका काम हुने बताउनु भयो । उहाँले आफ्नो पालामा सरुवा बढुवा तथा अन्य कार्य सम्पादनमा राजनीतिक प्रभाव नरहने पनि बताउनु भयो । आइजीपी सिंहले काम भन्दा राजनीतिक शत्तिःकेन्द्र धाउने प्रबृत्तिलाई पुर्णत निरुत्साहित गर्ने पनि बताउनु भयो । ‘राजनीतिक शक्ति केन्द्र धाउने प्रहरी कर्मचारीको अभिलेख राख्ने काम सुरू भएको छ । मेरो पालामा अब के हुन्छ भन्दा पनि यसको जवाफ तपाईंहरूलाई नै छाडेँ । भोलिका दिनमा देखिहाल्नु हुन्छ’, आइजीपी सिंहले भन्नुभयो ।

प्रहरी महानिरीक्षक सिंहले आजै प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधनको प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभएको छ । प्रहरी प्रमुख फेरिनेवित्तिकै प्राथमिकता परिवर्तन नहुने पनि प्रष्ट पार्नुभयो । उहाँले प्रहरी कर्मचारीहरूले असल संस्कृति र भातृत्वभावको विकास गर्दै नागरिक सेवाको साथै आफूलाई सुम्पिएको जिम्मेवारी, दायित्व र कामप्रति अनुशासित एवं कटिबद्ध भई काम गर्नुपर्ने बताउनु भयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरुले व्यावसायिक रुपमा निर्वाह गरेको जिम्मेवारी र भूमिकाको प्रशंसा गर्दै सम्पूर्ण म्यादी प्रहरीहरुले समेत अत्यन्त राम्रो काम गरेको बताउनुभयो ।
उपत्यकास्थित प्रहरी कार्यालयहरुले गर्ने कामबाट देशभरिको पुलिसिङ मापन हुने हुनाले उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरुलाई रोलमोडल भई उदाहरणीय काम गर्न उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले कामप्रतिको प्रतिबद्धताको अझै बढी खाँचो रहेको उल्लेख गर्दै प्राप्त चुनौती र अवसरलाई आफ्नो वृत्ति विकासको एक हिस्साको रुपमा लिई अगाडि बढ्नुपर्ने बताउनुभयो ।

के गर्दा पुलिसिङ अझै राम्रो बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिई काम गर्नुपर्नेमा जोड दिँदै उहाँले आपराधिक तत्वसँग साँठगाँठ, प्राकृतिक स्रोतको दोहन लगायत जस्तोसुकै गैरकानुनी काममा संलग्न रहेको पाइएमा जोकोहीलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम राज सुवेदीले संगठन प्रमुखबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्