जनता टाइम्स

१९ जेष्ठ २०७९, बिहीबार २०:३५

एमाले महासचिवले सुझाए बालेन साह र हर्क साम्पाङले गर्नैपर्ने यो काम


काठमाडौं, जेठ १९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर मेयर जित्नुभएका काठमाडौं महानगरपालिकाका बालेन शाह र धरानका हर्क साम्पाङलाई पार्टीमा लाग्न सुझाव दिनुभएको छ । नेपाल राष्ट्र बैंकको कर्मचारी संघको आठौं परिषद् बैठकमा आज बोल्दै एमाले महासचिव पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन जितेका शाह र साम्पाङलाई पार्टीमा लाग्न सुझाव दिनुभएको हो ।

शाह र साम्पाङ जनताका असन्तुष्टिका रूपमा आएको तर यो राज्य सञ्चालकको प्रवृत्ति नभएको पोखरेलको भनाई छ । ‘एक प्रकारले भन्ने हो भने राजनीतिमा नोट भोट प्रवृत्तिका रूपमा त्यस्ता पात्र र प्रवृत्तिहरू देखा पर्छन्। त्यस अर्थमा राजनीतिक दलहरूले मुलुकलाई सही प्रकारको विकल्प दिन नसक्दा मतदाताले विद्रोह गरे र स्वतन्त्र व्यक्तिहरू विजेता बनेका छन्,’ महासचिव पोखरेलले भन्नुभयो ।

मुलुकको नेतृत्व गर्ने बाटो यो नभएको पनि पोखरेलले बताउनु भयो । राजनीतिमा सफल हुन चाहेको भए संस्थागत प्रक्रियामा जोडिन जरूरी भएको उहाँको भनाई छ । ‘तर मुलुकलाई नेतृत्व गर्ने सही बाटो हो कि होइन भन्दाखेरी सही बाटो होइन र उनीहरू साँच्चै राजनीतिमा सफल हुन चाहन्छन् भने संस्थागत प्रक्रियामा जोडिनु जरूरी छ,’ पोखरेलले भन्नुभयो, ‘स्वतन्त्र व्यक्तिहरूका लागि कुन पार्टी मनपर्छ त्यो उनीहरूको छनोटको अधिकारको कुरा हो। तर एक्लै समाजलाई बदल्छु भन्ने खालको कुरा न हिजो सम्भव थियो, न भोलि सम्भव हुन्छ।’