जनता टाइम्स

२० जेष्ठ २०७९, शुक्रबार १७:११

सैनामैना नगरकार्यपालिकामा एमालेको दुई तिहाई बहुमत, निर्वाचनमा प्यानलै विजयी


रूपन्देही, जेठ २० । रुपन्देहीको सैनामैना नगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा एमालेका आठै जना उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचनबाट एमालेका टेकबहादुर विश्वकर्मा, डोलबहादुर सार्की, सुरज बराल, दुर्गामाया श्रेष्ठ, मनकुमारी राई, मायादेवी बिक, मीरा क्षेत्री र सीता थारु निर्वाचित हुनुभएको हो । अब सैनामैनाको १७ सदस्यीय कार्यपालिकामा १२ जना नेकपा एमालेले हात पारेको छ भने सत्ता गठबन्धन ५ जना सदस्यमा सीमित भएको छ ।

सैनामैना नगरपालिकाको प्रमुखसहित ४ जना वडा अध्यक्ष र १२ जना वडा सदस्य गरी १७ जना जितेको सत्ता गठबन्धन कार्यपालिकामा अल्पमतमा परेको हो । उपप्रमुखसहित ७ जना वडा अध्यक्ष र ३२ जना वडा सदस्य जितेको एमाले कार्यपालिकामा बलियो देखिएको छ। यसैगरी ६० सदस्यीय नगरसभामा एमाले ४३ मतका साथ दुई तिहाई बहुमतमा रहेको छ ।