जनता टाइम्स

२० जेष्ठ २०७९, शुक्रबार २०:०२

तिङ्करमै कार्यपालिका बैठक राख्ने – व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीको घोषण , कार्यालय प्रमुखलाई निम्तो


दार्चुला, २० जेठ । व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले व्यास गाउँ कार्यपालिका बैठक तिङ्करमै राख्ने बताउनुभएको छ । सदरमुकाम खलङ्गाका कार्यालय प्रमुखसँगको परिचयात्मक कार्यक्रममा उहाँले सबैभन्दा विकट मानिने व्यास–१ को छाङ्ग्रु र तिङ्करमा कार्यपालिका बैठक राख्ने बताउनुभएको हो ।

‘यो ठाउँमा अब कार्यपालिका बैठक राख्छु’, अध्यक्ष धामीले भन्नुभयो, ‘यो बैठकमा कार्यालय प्रमुखहरूलाई निम्तो हुन्छ, आइदिनुहोला ।’ भारतीय भूमि भएर पनि कार्यालय प्रमुख र सरोकारवालालाई छाङ्ग्रु र तिङ्करमा लगेर बैठकमा राख्ने योजना रहेको उहाँले बताउनुभयो । यो क्षेत्रका लागि सरकारले नेपालतिरबाट घोरेटोबाटो बनाउन सकेको छैन । सेनाले सडक निर्माण कार्य सुरु गरे पनि गति लिन सकेको छैन । ‘सडक र घोरेटोबाटो एकसाथ चाँडो बनाउन सबैले पहल गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

सरकारले यो क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म पछिल्लो समय स्थापना गरेको छ । यसअघि नेपाल प्रहरी मात्रै सरकारको उपस्थितिका रूपमा रहेको थियो । सरकारले यो क्षेत्रलाई विशेष महत्त्व दिएको छ । छाङ्ग्रुका नागरिकका लागि खाद्यान्न डिपो भए पनि तिङ्करमा डिपो छैन । छाङ्ग्रुबाट तिङ्कर पुग्न पाँच घण्टाभन्दा बढी समय लाग्छ । नेपालतिर बाटो नहुँदा यहाँका नागरिक भारतीय भूमि हुँदै गाउँ पुग्नुपर्ने बाध्यता छ ।