जनता टाइम्स

२१ जेष्ठ २०७९, शनिबार १७:०८

पूर्वी सहर सेभेरोदोनेत्स्कलाई पुनः कब्जा गर्दै युक्रेनी फौज


किभ, २१ जेठ । रुसी सेनाको करिब नियन्त्रणमा पुगेको युक्रेनी पूर्वीसहर सेभेरोदोनेत्स्कलाई युक्रेनी सेनाले पुनः कब्जा गरेका छन् । सेभेरोदोनेत्स्क सहरको एउटा भाग पुनः कब्जा गरेको युक्रेनका क्षेत्रीय गभर्नरले दाबी गरेका छन् । सहरलाई आफ्नो नियन्त्रणमा लिने रुसी र युक्रेनी सेनाको रस्साकस्सीबीच युक्रेनी सेनाले सहरको केही भाग आफ्नो कब्जामा लिन सफल भएको हो । आफ्ना सेनाले आक्रमणकारी रुसी फौजलाई पछाडि धकेलेको गभर्रनरले जनाउनुभएको छ ।

गर्भनर सर्गी हाइदाईले रुसीहरूले यसअघि देशको पुरानो औद्योगिक सहरलाई रुसी सेनाले लगभग ७० प्रतिशत कब्जा गरिसकेको बताउनुभएको थियो । तर, युक्रेनी सेनाले सेभेरोदोनेत्स्कको ठूलो हिस्सा पुनः प्राप्त गरेको उनले बताए । रुसी सेनाको मुख्य निशाना बनेको सो सहर केही सातादेखि निरन्तरको गोलाबारीमा परेको छ । यसैबीच, सेभेरोदोनेत्स्कमा लडाइँ जारी रहेको गभर्नर हाइदाईले बताउनुभएको छ ।

आज एउटा टेलिग्राम पोस्टमा हाइदाइले पछिल्लो २४ घन्टामा युक्रेनी फौजले ९ ओटा हमलाको प्रतिकार गरेको बताउनुभयो । युक्रेनी फौजले रुसी सेनाको एक एक ओटा ट्यांक र तोपखाना र ८ वटा सशस्त्र गाडी ध्वस्त पारेको दाबी गर्नुभएको छ । वायु रक्षा इकाइले एउटा क्रुज मिसाइल र तीन ओटा मानवरहित हवाई साधन खसालिदिएका उहाँले दाबी गर्नुभयो । रूसी सेनाहरूले आफ्ना सबै भण्डारहरू सेभेरोदोनेत्स्कमा फ्याँकिरहेका छन्’, उहाँले भन्नुभयो,‘मानवीय अवस्था यति भयावह छ की सहरमा खाना र औषधि पुर्याउन असम्भव छ । ’

अमेरिकाले प्रदान गरेको नयाँ तोपाखाना निर्णायक हुने उहाँले बताउनुभयो । सो हतियारमार्फत् रुसी फौजलाई खेद्ने उहाँको भनाइ छ । हिजो राति नियमित सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना ‘विश्वको दोस्रो सेना’ भन्दै खिल्ली उडाउनुभएको थियो । सम्बोधनका क्रममा उहाँले रुसी सेनासँग अब तितो मुस्कान, युद्ध अपराध, घृणा र अपमान बाँकी रहेको टिप्पणी गर्नुभयो ।