काठमाडौं, २२ जेठ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित डीएसपीको नेतृत्वमा सीआईबीको टोली परिचालन गरिएको छ । डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको ६ सदस्यीय टोली परिचालन गरिएको सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मोहनकुमार आचार्यले बताउनुभयो । भट्टका अनुसार शनिबार साँझ अछामतर्फ गएको सीआईबीको टोली घटनास्थल पुगेर आइतबारबाट काम थाल्नेछ । उक्त टोलीमा नेपाल प्रहरीको सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी)का सदस्यहरु समेत छन् ।
शाहीको शव भेटिएपछि आक्रोशित स्थानीयले पनि सीआईबीको टोलीलाई अनुसन्धानमा सघाउने भएका छन् ।अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले अनुसन्धानका लागि सीआईबीको टोली तालिम प्राप्त कुकुरसहित खटिएपछि आन्दोलित भएका स्थानीयले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभयो । जेठ १७ गतेदेखि बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाही शनिबार घर नजिकै मृत अवस्थामा फेला परेका थिए । उनी मृत भेटिएपछि प्रशासनविरुद्ध स्थानीय प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गर्नुपरेको थियो ।वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनकाअनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।
पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । शाही नेकपा एमाले समर्थक परिवारको सदस्य भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्