जनता टाइम्स

२३ जेष्ठ २०७९, सोमबार ०८:३३

बाँदरमुढे घटनाका पीडितको पीडा उस्तै, भन्छन्–प्रचण्डले आश्वासन मात्रै दिए


काठमाडौं, जेठ २३ । बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ। माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ। १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ ।पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन्। चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आश्वासन मात्रै दिएको पीडितको गुनासो छ। माडी प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ। तत्कालीन विद्रोही माओवादीले २३ जेठ २०६२ मा माडीको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परी ४२ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा अधिकांश माडीका स्थायी बासिन्दा थिए। नेपाली सेनाका तीन जवानले पनि उक्त घटनामा विरगती प्राप्त गरेका थिए।

विद्रोही माओवादीका कमाण्डर स्वंयम प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्दा पनि पीडितले राहत महसुस गर्न पाएका छैनन्। विस्फोटमा एउटा घरका तीन जनासम्म परेका थिए।१५० यात्रु बोकेर माडीको बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबहाक बसमा माओवादीले बम विस्फोट गराउँदा घटनास्थलमा ३९ र उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो। सामान्य घाइते भई घरमा उपचार गराएका घाइतेको रेकर्डबाहेक ७५ जना घाइते भएका थिए।मृतकहरुको सम्झनामा आज घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरिएको छ। एड्भोकेसी फोरमको सहकार्यमा बाँदरमुढे घटना पीडित समितिले घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरेको हो। दोषीलाई कारबाही गरी पीडितको अधिकार सुनिश्चित गर्न पीडितले माग गरेका छन्।

घटना भएको १७ वर्ष भइसक्दा पनि पीडा घट्ने भन्दा बढ्दै गएको पीडित यमकला चुवाई बतानुहुन्छ । घटना हुँदा उहाँको पेटमा ८ महिनाको गर्भ थियो। घटना भएको एक महिनापछि उहाँले छोरीलाई भरतपुर अस्पतालमा जन्म दिनुभयो। तर, छोरीको मुटुको धड्कन असामान्य भएपछि उहाँले छोरीलाई अस्पतालमा सात महिनासम्म राख्नुभयो । ‘घटनापछि छोरीलाई जन्म त दिएँ र मुटुको धड्कनले राम्रोसँग काम नगरेकाले अस्पतालको आइसियूमा सात महिनासम्म राखेँ’, उहाँले भन्नुभयो ‘मेरो आँखामा छर्रा लागेको थियो। अहिलेसम्म पनि आँखा राम्रोसँग देख्न सक्दिन। दाहिने खुट्टा भाँचिएर रड राखेको छ।’ उहाको हातका औँला काटिएको छ। अहिले ऋण लिएर आफ्नो र छोरीको उपचार गर्दै आएको उहाँ बताउनुहुनछ । उहाक्ँका तीन छोरी, एक छोरा र श्रीमान छन्। बम विस्फोटमा पर्दा गर्भमा रहेकी छोरी अहिले १७ वर्षको पुग्न लाग्नुभयो । उहाँ कक्षा ११ मा पढ्दै हुनुहुनछ । अर्का दुई छोरी १८ वर्ष नाघिसके। स्नातक तहमा पढ्छन्। १८ वर्ष नाघेपछि दुई छोरीलाई सरकारले दिँदै आएको पढाई खर्च बापतको रकम रोकिएको उहाँले बताउनुभयो । ‘१८ वर्ष पुग्दा सम्मको लागि सरकारले छोराछोरीलाई पढाई खर्च दिएको थियो। १८ वर्ष नाघेपछि नदिने रहेछ’, उहाँ भन्नुभयो । ‘दुई छोरी १८ वर्षभन्दा बढिका भए। १३ र १४ कक्षामा पढ्दै छन्। उहाँहरुलाई दिँदै आएको पढाई खर्च रोकिएको छ।’ घरमा कमाउने मान्छे कोही नभएको भन्दै उहाँले ठूलो कक्षामा पढ्न थालेका छोरीहरुको पढाई खर्च जुटाउन समस्या भएको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पीडितलाई सँधै झुटो आश्वासन दिएर भोट माग्ने गरेको उहाँ बताउनुहुन्छ । औषधिमा महिनामा दुई देखि सात हजार रुपैयाँसम्म खर्च भइरहेको उहाँले बताउनुभयो । छोरीको लागि मात्रै महिनामा करिब पाँच हजार रुपैयाँ खर्च हुने गरेको उहँँको भनाइ छ।

‘घटनाले छोरी मानसिक रुपमा कमजोर छन्। उाँहले पनि महिनामा पाँच हजार जतिको औषधी खाइरहनुभएको छ । , उहँले भन्नुभयो, ‘झन् पछि–पछि पीडा बल्झिँदै गएको छ।’ बम बिस्फोटमा श्रीमती र एक छोरा गुमाएका तत्कालीन कल्याणपुर गाविस–५ का निर्मल सापकोटाको पनि पीडा उस्तै छ। बाँदरमुढे घटनाबारे कसैले सम्झाइ दिँदा अहिले पनि मन भक्कानिएर आउने उहाँ बताउनुहुन्छ । ‘मैले पाँच वर्षको छोरो र श्रीमती गुमाएँ’, उहाँले भन्नुभयो , ‘घटनाबारे कसैले सम्झाइदियो भने अहिले पनि मन भक्कानिन्छ।’ २०७४ को प्रतिनिधि सभाको निर्वाचनका बेला पीडित परिवारका एक सदस्यलाई रोजगारीको सुनिश्चितता गर्ने र प्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने प्रचण्डको आश्वासन थियो। त्यसका लागि अमिक शेरचनको संयोजकत्वमा समिति बनाएपछि चुनाव जितेपछि प्रचण्डले सबै भुलेको उहाँ बताउनुहुनछ । ‘पीडितका छोराछोरीलाई स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने भन्ने थियो। घटनास्थलमा स्मारक बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । प्रचण्डले भनेका कुरा सबै आश्वासनमा मात्रै सीमित भएका छन्’, उहाँ भन्नुहुन्छ, ‘बरु नगरपालिकाले दिन्छु भनेको एक लाख रुपैयाँ विभिन्न चरणमा गरेर पीडितलाई दिएको छ।’ बाँदरमुढे घटना पीडित समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले राज्यले पीडितको मागलाई सम्बोधन गर्न नसकेको बताउनुहुन्छ । उहाँ आफै पनि बम विस्फोटमा परेर घाइते हुनुभएको हो। काम विशेषले भरतपुर आउँदै गरेका उहाँ चढेको बस पौने ८ बजे बम विस्फोटमा परेको थियो।
बम विस्फोटको घटनामा परेर घाइते भएका उहाँको मेरुदण्ड र देव्रे खुट्टा भाँचिएको थियो। खुट्टामा स्टिल हालेपछि अलिअलि हिँड्न सकिएको उहाँ बताउँनुहुन्छ । उहाँजस्ता थुप्रै घाइतेको अवस्था अहिले पनि नाजुक छ। ‘धेरै घाइते उपचार नै गर्न नसकेर रोइरहनुभएको छ’, उहाँ भन्नुहुन्छ ।

‘कमसेकम राज्यले पीडितलाई परिचय पत्र दिएर राज्यबाट सहुलियत पाउने व्यवस्था गरिदिएको भए पीडितलाई धेरै राहत हुने थियो।’ बम विस्फोटको घटनामा परेका घाइतेहरु एकोहोरिएर टोलाउने र मानसिक रुपमा पनि कमजोर भएको उहाँ बताउनुहुन्छ । केही घाइतेले अहिले पनि मानसिक रोगको औषधि खानुभएको छ। हात खुट्टा भाँचिएकाले औषधि मलम गर्ने र अर्थोको चेक गराउने गर्नुभाछ’, उहाँ भन्नुहुन्छ । ‘उपचार मंहगो हुँदा पीडितहरु झन् पीडामा हुनुहुन्छ। घाइतेले काम गरेर कमाउन सक्दैन, न राज्यले नै उनीहरुलाई हेरेको छ।’ घाइते जीवन लिएर बाँचेकामा पीडितमा हिनताबोध हुन थालेको उहाँ बताउनुहुन्छ। ‘प्रचण्डले पीडितहरुलाई राखेर थुप्रै आश्वासन दिनुभयो तर न्यायको बाटोमा कतै लाग्नुभएन। व्यक्तिलाई किन्न सकिन्छ कि भन्ने बाटोमा लाग्नुभयो’, उहाँ भन्नुहुन्छ , ‘घटना निरुपण गर्न उहाँ लाग्नुभएन।’ २०७४ को निर्वाचनमा केहि पीडितलाई राखेर एक घर एक रोजगार दिने र घाइतेलाई औषधी उपचार व्यवस्था गर्ने भनेर प्रचण्डले आश्वासन दिएका तर त्यो पुरा नभएको उहाँले बताउनुभयो ।