जनता टाइम्स

३१ असार २०७६, मंगलवार १५:१८

रोकिँदै, शुरु हुँदै विषादी जाँच


बाँके, असार ३१

सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच गर्यो । त्यसको दुई साता नबित्दै जाँच रोकियो । कर्मचारी अभावका कारण जाँच रोक्नुपरेको सङ्घीय सरकारले जनाएको छ । सङ्घीय सरकारले भनेको छ, “आवश्यक पूर्वाधार र जनशक्ति तयार गरेर एक वर्षभित्रै जाँच पूर्ण कार्यान्वयनमा आउनेछ ।”

यसरी सङ्घीय सरकारले जाँच रोके पनि प्रदेश सरकारले भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच गर्ने बताएपछि नेपालगञ्जमा एक साता अघिदेखि जाँच पुनः शुरु गरियो तर जाँच गर्ने कर्मचारीको अभाव देखाउँदै पुनः जाँच रोकिएको छ । पूर्वतयारी नै नगरेर शुरु गरेको जाँच पटक–पटक रोक्नुपरेको विषादी अवशेष द्रुत विश्लेषण एकाइ नेपालगञ्जले जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाली संरक्षण अधिकृत सकिल अहमदले कर्मचारी अभावका कारण समस्या भएको बताउनुभयो । उहाँले घरायसी कामले काठमाडौँ गएपछि विषादी जाँचको काममा झनै बाधा पुगेको छ । विषादी अवशेष द्रुत विश्लेषण एकाइका अनुसार नियमित जाँच गर्न बाली संरक्षण अधिकृत अहमदलाई जिम्मेवारी दिइए पनि एक्लैले काम गर्न नसक्ने भएपछि जाँच निरन्तर हुन सकेको छैन ।

कर्मचारी नहुँदा विषादी जाँच रोकिएपछि भारतबाट नेपाल भित्रिने तरकारी र फलफूल निर्वाधरुपमा विना जाँच भित्रिरहेको छ । विषादी अवशेष द्रुत विश्लेषण एकाइ नेपालगञ्जका सञ्चालक समितिका अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरका अनुसार विषादी जाँचलाई निरन्तरता दिन स्थानीय तथा प्रदेश सरकारसँग थप कर्मचारीसमेत माग गरिएको छ ।

“हामीले विषादी जाँचका लागि बाली संरक्षण अधिकृत एक जना, दुई जना प्राविधिक र कार्यालय सहयोगी एक जना हुनुपर्ने माग गरेका छौँ”, उपप्रमुख मगरले भन्नुभयो । उपभोक्ता सबैले आफूले तरकारी उत्पादन गरेर खाने बानी बसाल्न अनुरोध गरेको बताउनुभयो । केही दिनयता भारतीय तरकारीको नमूना भन्सार कार्यालयले नपठाएकाले पनि जाँच हुन नसकेको बाली संरक्षण अधिकृत अहमदले बताउनुभयो ।

भारतबाट आउने तरकारी मात्र नभएर नेपालगञ्जमा विभिन्न स्थानबाट आउने तरकारी र फलफूललाई मण्डीमा नै कहिले जोर नम्बर र विजोर नम्बर मिलाएर र कहिले जोर विजोर क्रस गरेर जाँच गर्ने योजना रहेको बाली संरक्षण अधिकृत अहमदले बताउनुभयो । अहिले आउने हरियो तरकारीमा अन्यभन्दा बढी विषादी भेटिएको विषादी अवशेष द्रुत विश्लेषण एकाइले जनाएको छ ।

बाली संरक्षण प्रयोगशाला खजुराका दीपक घिमिरेले नेपालगञ्जको सरकारी जमीनमा तरकारी लगाउने हो भने नेपालगञ्जलाई पर्याप्त पुग्ने बताउँदै सबैलाई आफ्नै बारीमा तरकारी फलाउन अनुरोध गर्नुभयो । नेपालगञ्जको रानीतलाउ तरकारीउपज बजारसँगै कोहलपुर र भन्सार क्षेत्रमा समेत प्रयोगशाला राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले केही दिनयता भारतबाट भित्रिने तरकारीमा अत्यधिक विषादी मिसाइएको हुनसक्ने भएकाले सजग रहन उपभोक्तालाई आग्रह पनि गरिएको छ ।