जनता टाइम्स

२३ जेष्ठ २०७९, सोमबार १९:५५

सेनिटरी प्याडमा ९० प्रतिशत भन्सार छुट दिए लगतै अर्थमन्त्रीसहित प्रधानमन्त्रीका छोराको ‘ककटेल पार्टी’


काठमाडौं, जेठ २३ ।अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते आइतबार अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार छुट दिएपछि नेपालका उद्योगहरुमा रुवाबासी छ । तर, अर्थमन्त्री शर्मा, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवार भने खुशी छ । नेपालमा रहेका ३५ देखि ४० वटा उद्योगले वार्षिक ९० करोड पिस सेनेटरी प्यान उत्पादन गर्ने क्षमता राख्ने भएपनि अर्थमन्त्री शर्माले प्रधानमन्त्री पुत्रलाई लाभ दिलाएर आफू ‘देउवाको विश्वास पात्र’ बन्न सेनिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने नीति लिएको खुलेको छ ।

जसले गर्दा ६ अर्ब रुपैयाँ लगानी भएका नेपालका सेनेटरी प्याड उद्योगहरु बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने जोखिम बढेको छ । किन आयो यो नीति ? ‘फ्रन्ट लाइन’मा व्यापारिक घरना विशाल ग्रुपले यसको लागि लविङ गरेको थियो । उसलाई ‘पोलिटिक्कली’ सहयोग प्रधानमन्त्री शेरबहादुर देउवाका एक्ला छोरा जयवीर देउवाले गर्नुभएको थियो ।

आमा आरजु राणा देउवालाई जयवीरले बजेटबाटै प्याडको आयातमा भन्सार छुटको व्यवस्था गराएर मोटो रकम लाभ लिन सकिने बताएपछि आरजुले जसरी पनि यो व्यवस्था गर्न अर्थमन्त्रीलाई भन्नुभयो । आरजु र छोरा जयवीरकै सल्लाह मुताबिक अर्थमन्त्रीले सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने घोषणा गरिदिनुभयो । हाल पनि विदेशबाट ‘बहुराष्ट्रिय कम्पनी’ले उत्पादन गरेका सेनेटरी प्याडहरु नेपालमा आयात हुन्छन् । हाल यस्ता प्याड आयात गर्ने मुख्य एजेण्ट नै प्रधानमन्त्रीका छोरा जयवीर हुनुहुन्छ ।

उहाँले नेपाली उद्योगलाई प्रतिस्पर्धामा आउनै नसक्ने गरी थला पारेर अर्बौ रुपैयाँ कमाउने उदेश्यले प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र अर्थमन्त्री जनार्दन शर्मालाई प्रयोग गरेर बजेट भाषणबाटै प्याड आयातमा ९० प्रतिशत भन्सार छुटको सुविधा पाए ।  बजेट भाषणमार्फत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार छुटको व्यवस्था गरिदिए वापत प्रधानमन्त्रीका छोरा जयवीरले राज्यमन्त्री उमेश श्रेष्ठको सानेपास्थित घरमा अर्थमन्त्री शर्मा र राज्यमन्त्री श्रेष्ठलाई आफ्ना एजेण्ट पार्टनरहरुसँग राखेर बजेट भाषणको भोलिपल्ट जेठ १६ गते राती ‘ककटेल पार्टी’ दिनुभएको एक स्रोतले बतायो ।