जनता टाइम्स

२३ जेष्ठ २०७९, सोमबार २१:०९

राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै : सुत्केरीको हेलिकप्टरबाट उद्धार


दैलेख, जेठ २३ । दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं. ३ लेक गाउँकी सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिको छ। २२ वर्षीय संगिता नेपालीलाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत पठाएको हो । सुत्केरी हुन नसकेकी नेपालीलाई स्वास्थ्य चौकी राकममा उपचार सम्भव नभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले हेलिकप्टर मार्फत सुर्खेत रेफर गरेको नगरपालिकाका उपमेयर कल्पना थापाले जानकारी दिनुभयो । समयमै स्वास्थ्य सेवा नपाएकै कारण ग्रामीण क्षेत्रका सुत्केरी महिलाहरुले अकालमै ज्यान गुमाउँनु परेको छ । विकट क्षेत्र, सडक सञ्जालको विस्तार नहुनु, गाउँमै व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा नहुनु,गाउँसम्म एम्बुलेन्स सेवा नहुनु र समयमै उपचारका लागि अस्पताल लैजान नसक्दा समस्या भोग्दै आइरहेका छन् ।

नागरिकका यस्ता समस्यालाई मध्यनजर गर्दै आठबिस नगरपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। गर्भवती र सुत्केरी बाहेकका अन्य व्यक्तिलाई भने सःशुल्क सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

सुत्केरी महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर उद्धार गरिंदै आएको छ। यो कार्यक्रम अन्तर नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्ने गरिन्छ । सुत्केरीको उद्धारमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेल,निवर्तमान मेयर खड्गराज उपाध्याय,प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर शाही,मेयर तर्कबहादुर बडुवाल,उपमेयर कल्पना थापा,स्वास्थ्य संयोजक देवराज तिमेलसेना लगाएतले समन्वय गर्नुभएको थियो ।