काठमाडौं, २६ जेठ । नेपाली सेनाको निमन्त्रणामा अमेरिकी सेनाको प्रशान्त क्षेत्र हेर्ने चार तारे जर्नेल चार्ल्स ए. फ्लिन काठमाडौँ आइपुग्नुभएको छ । नेपाल आउनुअघि भारत भ्रमणमा रहेका फ्लिनलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभयो। तीन दिने नेपाल भ्रमणका लागि नेपाल आएका फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको छ। फ्लिनले भोलि सिंहदरवारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने तय भएको छ।
त्यस्तै उहाँले भोलिनै सैनिक मुख्यालय जंगी अड्डामा नेपालका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। फ्लिनको सम्मानमा भोलि नेपाली सेनाले आफ्नो मुख्यालयमा गार्डअफ अनर दिने कार्यक्रम छ। त्यस्तै उहाँलाई भोलि नै नेपाली सेनाको गतिविधिहरू जानकारी गराइने र बिपद् उद्धार लगायतमा नेपाली सेनालाई आवश्यक पर्ने उपकरणहरूको जानकारी गराउँन लागिएको सैनिक स्रोतले जानकारी दिएको छ। उहाँको सम्मानमा भोलिनै प्रधानसेनापति शर्माले रात्रिभोज समेत आयोजना गर्नूभएको छ । शनिबार बिहान जर्नेल फ्लिनलाई नेपाली सेनाले हेलिकप्टरमार्फत सगरमाथाको आधार शिविरको भ्रमण गराउँदैछ।
फ्लिनसंगै प्रधानसेनापति शर्मापनि माउन्टेन फ्लाइटमा जाने तय भएको नेपाली सेनाका एक अधिकारीले जानकारी दिनुभयो। अधिकारीका अनुसार फ्लिनको भ्रमण दुई देशको सैन्य कुटनीतिमा निकै महत्वपूर्ण रहेकाले नेपाली सेनालाई आवश्यक पर्ने स्काइ ट्रक, सैन्य सामाग्री लगायतको माग गरिने र द्विपक्षीय चासो र हितका विषयमा कुराकानी हुने छन् । फ्लिन नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्र र शिवपुरीस्थित सेनाको कमाण्ड एण्ड स्टाफ कलेजको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको छ। प्रधानसेनापति प्रभुराम शर्मा केही सातापछि अमेरिका भ्रमणमा जाँदैहुनुहुनछ ।
प्रतिक्रिया दिनुहोस्