जनता टाइम्स

२७ जेष्ठ २०७९, शुक्रबार ११:३३

सत्ता गठबन्धनमा खटपट छताछुल्ल : प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण रोक्नुपर्ने माओवादी अडान


काठमाडौं, जेठ २७ । सत्तारुढ गठबन्धनमा चरम असन्तुष्टि देखिएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णयसँगै सतहमा आएको बिवाद नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण रद्ध गर्न माग गरेपछि सत्तारुढ दलको चरम बिवाद छताछुल्ल भएको हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा प्रमुख सचेतकसमेत रहनुभएका नेता देव गुरुङले संसद बैठकमै प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणप्रति आपत्ति जनाउँदै रोक्नुपर्ने अडान राख्नुभएको हो । संसदमा जारी बजेटमाथि छलफलमा भाग लिँदै सांसद गुरुङले अहिले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै अमेरिका भ्रमण उपयुक्त नहुने अडान राख्नुभयो । ‘प्रधानसेनापति र प्रधानमन्त्रीको भ्रमण आवश्यक छैन, राष्ट्रिय सुरक्षा संवेर्दनशीलतालाई ध्यानमा राखेर भिजिट स्थगित गर्न आग्रह गर्दछु,’ गुरुङले भन्नुभयो ।

दौत्य सम्बन्धका आधारमा मित्र राष्ट्रमा औपचारिक भिजिटहरु हुनसक्ने भए पनि तर अहिले अत्यन्तै संवेदनशील अवस्था रहेको उहाँको निश्कर्ष थियो । ‘अहिलेको परराष्ट्र नीति सैन्य नीतिमा गइरहेको छ । हामीले शान्तिपूर्ण नीतिमा जानुपर्नेछ,’ उहाँको भनाई थियो । ‘पहिलो कुरा भिजिट गर्नै हुँदैन। भिजिट भयो भने पनि स्टेट स्ट्राटेजी पार्टनरसिप (एसपीपी) लगायत कुनै सम्झौता हुनुहुँदैन,’ गुरुङले भन्नुभयो । एसपीपी सम्झौतामा अमेरिकाले दबाब दिइरहेको भन्दै नेता गुरुङले कुनै पनि सम्झौता गर्दा सर्वपक्षीय र राष्ट्रिय सहमतिबाट मात्र अगाडि बढ्नुपर्ने भन्दै प्रधानमन्त्रीमाथि प्रहार गर्नुभयो ।

अमेरिकाले नेतृत्व गरेका सबै समूह र सम्झौता फौजी रणनीतिअनुसार गइरहेकाले नेपाल जोगिनुपर्ने उहाँको भनाइ थियो। नेता गुरुङले एमसीसी सम्झौतामा भएको व्याख्यात्मक अमेरिकाले स्वीकारेको हो कि होइन भनि प्रश्न पनि गर्नुभयो । माओवादी अध्यक्ष प्रचण्डले यसअघि पनि प्रधानमन्त्रीसँग खटपट भएको अवस्थामा गुरुङलाइृ अघि सारेर यस्तो अडान सार्वजनिक गर्न लगाउँदै आउनु भएको छ ।