जनता टाइम्स

२७ जेष्ठ २०७९, शुक्रबार १२:५३

‘फेरि हारको कारण खराब ब्याटिङ’


काठमाडौं, २७ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ओमानविरुद्ध खराब ब्याटिङको कारण हार व्यहोर्न बाध्य भएको बताउनुभएको छ । आज बिहान समाप्त भएको आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ । खेलपछि प्रतिक्रिया दिँदै कप्तान सन्दीपले भन्नुभयो, ‘हारको कारण ब्याटिङ नै हो । हामी कुनै पनि पनि समय सम्मालिएर खेल्न सकेनौं ।’

यसअघि नेपालले दुई ओपनर घाइते भए पनि सुवास खकुरेललाई अमेरिका बोलाएको थियो । उहाँसमेत पहिलो खेलमा चल्न सक्नुभएन । नेपालको ब्याटिङमा पुनः ओपनिङ जोडी चल्न सकेनन् । नेपालले ४० रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट रंगशालामा ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ४ ओभरमा सबै विकेट गुमाउनुअघि १९८ रन मात्र बनाउन सक्यो ।

नेपालका आरिफ सेखले सर्वाधिक ६६ रन बनाउनुभयो । यसबाहेक देव खनालले ३४, रोहित पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले १६, विनोद भण्डारीले १४ र सोमपाल कामीले १३ रन बनाउनुभयो । ओमानका जिसन मक्सुद र खवर अलीले समान तीन विकेट लिनुभयो । यस्तै, विलाल खानले दुई विकेट लिँदा अयान खानको नाममा एक विकेट रह्यो । यसअघि टस जितेर ब्याटिङमा आएको ओमानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो ।

ओमानका कप्तान मक्सुदले सतकीय इनिङ खेल्नुभएको थियो । अविजित १०४ बनाएका मक्सुदले १२६ बलमा १२ चौका प्रहार गर्नुभयो । यस्तै, खवर अलीले ३०, सोएब खानले २७ र सुरज कुमारले टिमको खातामा १२ रन जोड्नुभयो । नेपालका करण केसीले सर्वाधिक पाँच विकेट लिनुभएको थियो । १० ओभर बलिङ गर्नुभएको करणले ३८ रन खर्चिनुभएको थियो ।

यसबाहेक कप्तान सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक विकेट लिनुभयो । कप्तान सन्दीपले अन्तिम १० ओभर समेत नेपाली फिल्डिङ सफल हुन नसकेको बताउनुभयो । ‘हामी ओमानलाई २०० कटाउन नदिने अवस्थामा थियौं । तर, त्यो सफल हुन सकेन,’ उहाँले भन्नुभयो । जितसँगै लिग २ को शीर्ष स्थानमा रहेको ओमानले ३४ खेलबाट ४२ अंक जोडेको छ । तालिकाको छैटौं स्थानमा रहेको नेपालले १३ खेलबाट १२ अंक जोडेको छ ।